काठमाडौं-प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएको विरोधमा भारतमा रहेका नेपालीलाई दुर्व्यवहार गरिएको छ।
ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती दिन थालेका हुन्। आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो। अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ। उदण्ड हिन्दूवादीहरुले नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् । भारत र श्रीरामको जयगान गरेका छन्।
सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको नेपालभित्रै र भारतमा पनि आलोचना भएको छ। स्वयं सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयमा बचाउमा प्रष्टीकरण वक्तव्य निकाल्नु परेको थियो।
अब यसको जनस्तरसम्ममा पनि असर देखिन थालेको छ। सरकार र सत्ता तहमा सीमित भइरहेका असन्तोष र विवाद जनस्तरमै पुग्दा त्यसले दुई देशका जनताबीचको सम्बन्धमा गम्भीर असर पर्नेमा जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।