बुटवल–तपाइँले फेसबुक म्यासेन्जर, भाइबर, स्काइप, ह्वाट्सएप, वीच्याट, इमो, जुम, बेभेम्स, सिस्कोजस्ता एप्लिकेशन चलाउनुहुन्छ ? तपाइँलाई आजकल दिनमा नभइनहुने चीज भैसकेहोलान्। के तपाइँलाई थाहा छ ? यी एप्लिकेशनहरु नेपालमा अवैध ढंगले सञ्चालन भइरहेका छन्।
आयकर ऐन, २०५८ को दफा ६७(६) को ज अनुसार तार, रेडियो, अप्टिकल फाइबर्स वा भू–उपग्रह जस्ता सञ्चारमाध्यमबाट सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नेपालमा स्थापित संयन्त्रबाट खबर वा सूचना सम्प्रेषण गरी प्राप्त गरेको भुक्तानी नेपालमा श्रोत भएको मानिने व्यवस्था छ।
सोही ऐनको दफा ६७(६) ठ (२) मा नेपालमा सञ्चालित क्रियाकलापको सम्बन्धमा गरिएका भुक्तानीको श्रोत नेपालमा हुने व्यवस्था छ।
महालेखा परीक्षकको कार्यालयको सत्ताइसौं प्रतिवेदनले ती एप्लिकेशनहरु आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कर आधार क्षेत्रभित्र पर्ने भएकाले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्नेमा कुनैपनि सेवा प्रदायक संस्था दर्ता नभएको उल्लेख गरेको छ।
प्रतिवेदनमा भनिएको छ–ती एप्लिकेशनले ओभर दी टप अफ सर्भिसेजको माध्यमले सेवा दिएकाले टेलिफोन सेवाको महत्वपूर्ण हिस्सता इन्टरनेटको प्रयोग गरी एप्लिकेशनमार्फत् सञ्चालन भइरहेको छ।
ती एप्लिकेशनमार्फत् सेवा प्रदान गर्ने निकाय दर्ता नभएका र कतिपयले क्रेडिट कार्डलगायत पेमेन्ट गेटवेमार्फत् स्वदेश विदेशबाट भुक्तानी भई नेपालमा सेवा उपभोग गरिरहेको अवस्था छ। ती निकाय दर्ता नभएका कारण प्राप्त हुनुपर्ने राजस्व गुमेको अवस्था छ।’
प्रतिवेदनले कानुनी तथा नीतिगत सुधार गरी ती सेवा प्रदायकलाई दर्ता गराई राजस्व असुल गर्ने व्यवस्था गर्न भनेको छ।