नवलपरासी-गण्डक नहरमा पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ। पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ।
शुक्रबार बिहान पानीको बहाव बढेर १० दशमलब ४५ मिटर पुगेको छ भने ११ मिटरसम्म पुगेपछि खतरा बढेको हो।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको देखाएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।
गण्डक ब्यारेजमा सबै ढोका बन्द रहेकाले पानीको बहाव बढ्दै गए नेपालतर्फ जोखिम बढ्ने भएकाले स्थानीयलाई सचेत हुन आग्रह गरिएको प्रजिअ पाठकले जानकारी गराए।
पानीको बहाव बढ्दै गए ब्यारेजका ढोका खोल्न भारतीय पक्षसँग आग्रह गर्ने उनले बताए। गण्डक क्षेत्रमा पर्ने सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दनका ४० बढी गाउँ डुबानमा पर्ने जोखिम छ।