काठमाडौं-सरकारले छोटो दुरीमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने निर्णय भएको बताए। बिहीबार प्रेस ब्रिफिङका क्रममा उनले काठमाडौमा उपत्यकाभित्रमात्रै र अरु जिल्लाहरुमा एउटा जिल्लाभित्र मात्रै गाडी चल्न पाउने बताए।
उनका अनुसार सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् भने गाडीमा प्रवेश गर्ने ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ र यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ।
त्यस्तै चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्ने बाध्यकारी नियम सरकारले ल्याएको छ। गाडी चलिसकेपछि प्रत्येक दिन बस निसंक्रमण गर्नुपर्नेछ ।
दुरी कायम गरेर एकातर्फको एउटा सिटमा मात्रै एकजना बस्न पाउने भएकाले गाडी भाडामा ५० प्रतिशत थप भएको छ। सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउन पाउने भएकाले साबिकको भाडामा थप रकम लाग्ने भएको हो। जस्तो कि यसअघि १०० रुपैयाँ भाडा लाग्नेमा अब १५० रुपैयाँ तिर्नुपर्नेछ।