दाङ–घोराहीको शहिद गेट मुन्तिर सडक पेटीमा एउटी सानी नानीले तरकारी पसल थापेकी छिन्। त्यो पसलमा तरकारी मात्रै होइन, फलफूल पनि किन्न पाइन्छ। हरेक ग्राहकसँग उनले डिल गर्छिन्। कहिले भाउ मात्रै सोध्ने ग्राहक आउँछन्। कहिले किन्ने ग्राहक आउँछन्। सबै ग्राहकसँग उनले उसै प्रकारले डिल गर्छिन्। अनी सडक पेटीमा थापेको पसलमा राखिएको आँप, केरा, टमाटर, मकै बेच्छिन्। हरेक दिन उनी आफ्नो हजुरबुवा लालबहादुर नेपालीसँग पसल थाप्न बजार पुग्ने गर्छिन्। विद्यालय बन्द भएकाले उनी आफ्नो हजुरबुवालाई सघाउने गरेकी हुन्।
कोरोना भाइरस फैलने डरले विद्यालय बन्द छन्। धेरै बालबालिका अहिले विद्यालय जान पाएका छैनन्। विद्यालय जान नपाएका बालबालिका घर परिवारका सदस्यसँगै मिलिजुली काममा सहयोग गरिरहेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाँडा निवासी १० बर्षिया गरिमा परियारले आफ्नो हजुरवुबालाई सघाउन घोराही बजार आउने गरेको बताइन्। कक्षा तीनमा पढ्ने गरेकी उनी अचेल लकडाउनले गर्दा विद्यालय जान पाएकी छैनन्।
गाउँमा फलेको तरकारी, आँप, केरा, टमाटर, निउरो विक्रि गर्न उनी हजुरबुवा संगै बजार आउने गरेकी हुन्। यसरी बजारमा तरकारी, फलफूल बिक्री गर्दा उनले धेरै नयाँ कुरा सिक्ने अवसर पाइन्। ‘म मेरो बाजेसँग व्यापारमा आएको छु। फलफूल, तरकारी तौलेर, हिसाब किताब गरेर बाजेलाई सघाउने गर्छु। हिसाबकिताब गर्न सिके। घटाउन जोड्न जाने’उनले भनिन्–‘दिनभरी तरकारी, फलफूल वेच्छु । विहान ६ बजे तिर आउछौं। साँझ पुलीसले हटाएसी जान्छौं।’
तरकारी बेचेर आएको पैसाले किताब कापी किन्ने योजना उनले बनाएकी छिन्। अनि विद्यालय खुलेपछि वल्ल विद्यालय जाने योजना छ। ‘बाजेले किताब कापी किनिदिन्छु भन्नुहुन्छ। लकडाउनले गर्दा स्कुल जान पाइएको छैन। लकडाउन खुल्यो भने स्कुल जाने थिएँ। अहिले म बजारमै छु। बाजेलाई सहयोग गरिरहेको छु’-उनले भनिन्–‘तरकारी पसलमा बस्न थालेपछि मान्छेसँग बोल्न सिके।’ नातिनीले सहयोग गर्न थालेपछी लालबहादुर खुसी र दंग छन्। ‘नातिनी सानी भएपनी चलाख छे’-उनले भने–‘तरकारी बेच्दा मलाई हिसाब सम्झाउन सक्ने भएकी छिन्। स्कुल नखुलेपनि नातिनीले तरकारी पसलबाट हिसाब जानेकी छिन्।’