गुल्मी-गुल्मीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका-१ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन र साेही ठाउँ निवासी रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा छन् । अविरल वर्षासँगै आएकाे पहिराेमा परेर चार जना गम्भीर घाइते भएका छन् । एक जना अझै बेपत्ता छन् ।
बिहीबार राति एक्कासी घर माथिबाट आएकाे पहिरोले बंगालो (गोठ) बगाउँदा १८ महिने बालक पहिरोमा पुरिएको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंगबहादुर खत्रीले जानकारी दिए । मृतक बालककी आमा सृजना सारु पनि अचेत छन् । बुबा वसन्त सामान्य घाइते भएका छन् ।
पहिरोले रिखबहादुर खत्रीको घर बगाएको छ । पहिरोमा परेर बेपत्ता भएकी सात वर्षीया छाेरी अपेक्षाकाे शब फेला परेको हस्तिचौर स्वास्थ्यचौकी इन्चार्ज समसुल हक मियाँले जानकारी दिए । जिवितै उद्धार गरिएकी उनकी श्रीमती इश्वरा खत्रीको अवस्था गम्भीर छ । खत्रीकी हजुरआमा पुतला खत्री, बुबा टीका खत्री र आमा घाइते छन् ।
घटनास्थलमा हस्तिचाैर स्वास्थ्यचौकीका इन्चार्ज समसुलहक मियाँको टोली पुगेर उद्धारको प्रयास जारी राखेको छ। उद्धारका लागि हेलिकोप्टर ल्याउने भनिएपनि मौसमको खराबीका कारण हेलिकोप्टर आउन सकेको छैन । पूर्वमन्त्री तथा गुल्मीका सांसद गोकर्ण विष्टले हेलिकोप्टर ल्याउने तयारी भएको बताएपनि अवतरण गर्न नसक्ने बताएपछि काठमाडौंमै रोकिएको छ।
त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । वडाध्यक्ष लक्ष्मण खत्रीका अनुसार पहिरोले गाउँ-गाउँबीचकै सम्पर्क बिच्छेद भएको छ । वर्षाका कारण मूलसडकसमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।
पहिराेमा परेकाेहरूकाे उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।