गुल्मी-गुल्मीको इस्मामा पहिरो जाँदा वडा नं १ को हस्तीचौर गाउँ सम्पर्कविच्छेद भएको छ। गाउँमा जाने सबै सडकहरु पहिरोले बगाएकोले पहिरो गएको स्थानसम्म जान नसकिने इस्माको स्वास्थ्यचौकीका इन्चार्ज समसुलहक मियाँले जानकारी दिए ।
पहिरोमा परेर घाइते भएकाहरुलाई हेलिकोप्टरबाहेक अरु कुनै माध्यमबाट उद्धारको सम्भावना नरहेको मियाँले बताए । अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
१ जनाको मृत्यु, २ जना बेपत्ता
इस्मा गाउँपालिकाको १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत अवस्थामा फेला परेका छन् । मृतक सिजन सारुकी आमा सृजना सारु पनि अचेत छन् । बुवा बसन्त सारु भने सामान्य घाइते छन् ।
घर माथिबाट एक्कासी आएको पहिरोले बंगालो बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिए । परिवारका अन्य सदस्य भने भागेका थिए ।
त्यस्तै पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । वडा पहिरोमा पुरिएर खत्रीको ७ बर्षकी अपेक्षा खत्री बेपत्ता भएकी छन् भने श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ ।
तर उनको अवस्था गम्भिर रहेको वडा सदस्य खत्रीले जानकारी दिए । पहिरोमा परेका खत्रीको हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए ।