गुल्मी-गुल्मीमा पहिरोका कारण एक जनाको मृत्यु भएको छ । चार जना गम्भिर घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् । पहिरोका कारण इस्मा गाउँपालिकाको १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत अवस्थामा फेला परेका छन् ।
मृतक सिजन सारुकी आमा सृजना सारु पनि अचेत छन् । बुवा बसन्त सारु भने सामान्य घाइते छन् ।
घर माथिबाट एक्कासी आएको पहिरोले बंगालो बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिए । परिवारका अन्य सदस्य भने भागेका थिए ।
त्यस्तै पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर खत्रीको ७ बर्षकी अपेक्षा खत्री बेपत्ता भएकी छन् भने श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ ।
तर उनको अवस्था गम्भिर रहेको वडा सदस्य खत्रीले जानकारी दिए । पहिरोमा परेका खत्रीको हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।