बुटवल-आज बुधबारदेखि केही दिन देशभर ठूलाे वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बुधबारदेखि मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘यस वर्षको मनसुन जुन १२ मा नेपाल भित्रिएर जुन २१ मा देशभरी फैलिएसँगै मनसुनको न्यून चापीय रेखा बुधबारदेखि नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्न गई देशका सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ,’ मंगलबार विशेष मौसमी बुलेटिन जारी गर्दै महाशाखाले भनेको थियो- ‘तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
आज (बुधबार) बिहानै नेपालमा मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबार) सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो।
उनका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन सुरु भएको हो। यो हावा देशको पूर्वी क्षेत्रबाट भित्रिरहेको छ। जसका कारण नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेको छ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सचेत गराएको छः
देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/ पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार १० गते (बुधबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातीः देशको सबै प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानमा भारी वर्षाको सम्भवना छ।
असार ११ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातीः देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असार १२ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातीः देशको सबै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।