बुटवल-पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार पहिरोमा पुरिएर मृत्यु हुनेको परिचय खुलेको छ ।
पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से-४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए । तानसेन- रिडी सडकखण्डको सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको मृत्यु भएको थियो ।
सोमबार बेलुका पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई पहिरोले बगाएको थियो ।
सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा २ जनाको घटनास्थलमै र १ जनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको पाण्डेले जानकारी दिए ।
त्यस्तै, लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन् । ती गाडीमा क्षति भएपनि मानवी क्षति भने नभएको प्रहरीले जनाएको छ ।