सोमबार बिहानैदेखि परिरहेको वर्षाका कारण ठाउँठाउँमा खसेका पहिरोका कारण पाल्पा–गुल्मी सडक अवरुद्ध भएको छ । तीन दिनदेखिको वर्षाले सडकको तानसेन–रिडी खण्ड अवरुद्ध भएको हो ।
सडकमा एक सय बढीं सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकको तानसेन नगरपालिका अन्तर्गत ढुंगाखानी, सम्मोबारी, जोगेपानी लगायतका स्थानमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको छ ।
स्थानीयका अनुसार दुईतिर पहिरोको बीचमा दुई ट्रकसमेत फसेको छ । लगातारको वर्षाले पहिरो खस्न नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।
पहिरो पन्छाउने ठाउँमा बिजुलीको हाइटेन्सन लाइन भएकाले पनि डोजरले खन्न नमानेको प्रहरीले जनाएको छ । एक महिना अघि मात्र तानसेन नगरपालिकाले सडक चौडा गर्दा खनेको सडकमा पहिरो खस्दा बन्दीपोखरामा एक दर्जन भन्दा बढी घरसमेत जोखिममा परेका छन् ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले परिचालन गरेर घरहरुलाई पहिरो र बाढीबाट जोगाएका थिए । तीन दिनदेखिको वर्षाले पहिरो खसेर जोगेपानीमा गोठ पुरेको छ भने घर जोखिममा परेको छ । पाल्पाको पूर्वभेग जोड्ने आर्यभन्ज्याङ–रामपुरको चापगैरा, सेफद, खालीवन लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।