बुटवल–पाल्पाको तानसेन–हार्थोक सडक अन्तर्गत तानसेन नगरपालिका–११, बन्दीपोखरा सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन ।
गम्भीर घाइते अवस्थामा उद्धार गरिएका घाइतेको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । तानसेन–हार्थाेक सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा खसेको पहिरोमा लु २ च ७०४३ को बोलेरो जीप, लु १ च ७०११ नम्बरको कार, लु २ ख १३७६ नम्बरको ट्रक र एक पानी बोक्ने ट्याङ्कर पहिरोले बगाएको हो ।
घटना स्थलबाट एउटा मोटरसाइकलको हेलमेट फेला परेको थियो । त्यसैका आधारमा मोटरसाइकलमा सवार व्यक्ति पनि पहिरोभन्दा अगाडि गइसकेको वा पुरिएको भन्ने खुल्न नसकेको उनले बताए ।
आफ्नो मोटरसाइकल पुरिएको भन्ने खबर नआएको प्रहरीले जनाएको छ । तर प्रत्यक्षदर्शीले भने मोटरसाइकल चालकले मोटरसाईकल छाडेर भागेको देखेको बताएका छन् । सडकमाथिबाट खसेको पहिरोले सवारी साधनलाई बगाएर सडक तल भीरमा पुर्याएको छ । एउटा मालबाहक मिनी ट्रक भीरमै अड्किएको छ । पानी बोक्ने ठूलो ट्याङ्कर भने सडकबाट ५ सय मिटर तल पुगेको छ ।