बुटवल–नवलपरासी पश्चिममा आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ । बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो ।
स्वाब संकलनका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो । आइसोलेनमा बसेका उनीहरुको पुन ः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो ।
शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । “आइसोलेसनमा बसेकाहरुलाई परीक्षण नगरी घर पठाउने आदेश छ । तै पनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौं । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुनः पोजेटिभ देखियो ।” ढकालले भने ।
त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ । क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।
क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्रयाक ट्रेसिङ्ग गरिएको थियो । १५ दिनसम्म घर बसेका उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए ।
उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ्ग गरिने छ । संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए ।