बुटवल–अर्घाखाँचीको शितगंगामा आत्महत्या गरेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
शितगंगा नगरपालिका वडा नं. ५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका स्थानीय ४५ वर्षीय पुरुषको स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भएको हो ।
आरडिटि रिपोर्ट पोजेटिभ आएपछि जेठ २५ गते स्वाव संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो ।
मंगलबार राती आत्महत्या गरेका उनीसहित अर्घाखाँचीबाट प्राप्त भएका नमूना परीक्षणको क्रममा ४९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
मृतक जेठ १० गते भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी क्वारेन्टाईनमा बसेको मंगलवार २४ दिन पुगेको थियो । मंगलबार राती रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बुधबार बिहान शव देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।
लामोसमयसम्म रिपोर्ट नआएको र क्वारेन्टिनमा खानपान राम्रो नभएको, हेय एवं विभेद गरेका कारण मानसिक तनावमा आएर आत्महत्या गरेको अनुमान गरिएको छ । सोही क्वारेन्टिनमा उनीसँगै बस्ने अरु २ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
शव व्यवस्थापन गर्ने र आत्महत्या गर्नुको वास्तविक कारण पत्ता लगाउनका लागि सुरक्षाकर्मीहरु खटाइसकेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
यसअघि अर्घाखाँचीमा कोरोना भाइरसबाट संक्रमित एकजनाको ज्यान गएको थियो । बुधवार एकैदिन ४९ जना थप भएपछि अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ ।