पोखरा । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए ।
शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अरु दुईजनाको पनि शव फेला परेको छ । प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए ।
बिहानैबाट पनि थप सुरक्षाकर्मी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् । बिहान दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि शनिबार राति तीनजनाको शव फेला परेको थियो ।