बुटवल-कपिलवस्तुबाट अचेत अवस्थामा बुटवल ल्याईएका कोरोना भाइरसबाट संक्रमित एकजना युवा १६ दिनपछि निको भएर घर फर्किएका छन् ।
जटिल अवस्थामा ल्याईएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तरगतको कोरोना अस्पतालमा आईसीयूको भेन्टिलेटरमा राखेर उपचारपछि शुक्रबार डिस्चार्ज गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका बिरामीमध्ये निको भएका उनी पहिलो व्यक्ति रहेको खनालले बताए । मधुमेहका बिरामी समेत रहेका उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा ल्याएपछि उनलाई २ दिन भेन्टिलेटरमा राखिएको थियो । त्यसपछि स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा राखिएको थियो । जटिल अवस्था रहेकाले उनको उपचारमा विशेषज्ञसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए ।
जेठ पहिलो साता भारतको मुम्बईबाट आएका उनी कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । बुटवलको कोरोना विशेष अस्पतालमा अहिले पनि ४ जना आईसोलेशन र ३ जना आईसियुमा रहेका छन् ।