गुल्मी–मालिका गाउँपालिका वडा नं ७ टुनिखोलाकी ३८ बर्षीया कमला सुनार दुई बर्षदेखि कुकुर बाँध्ने साङलोमा छन् । उनी मानसिक रोगी हुन् । यो समस्याबाट सुनार दुई बर्षदेखि पीडित छन् ।
औषधि खाने पैसा छैन । गरिब भएकाले गाउँमा पटक–पटक ऋण पत्याएनन् । ९ महिनादेखि औषधि मुखमा परेका छैन् । कमलालाई दैनिक रोगले च्याप्दै गएपछि कहिलेकाँही कसैले समाल्नै सक्दैनन् ।
घमिरको टुनिखोला सुकुम्बासी गाउँ हो । बिपन्नहरुकै बिचमा कमलाको परिवार छ । त्यो गाउँका हरेकले मजदुरी गर्छन् । कमलाले पनि दुई बर्ष पहिलेसम्म मजदुरी गरेरै परिवार चलाएकी थिइन् ।
श्रीमान सुरज सुनारले भारतमा काम गर्थे । उनी श्रीमतीलाई मानसीक समस्या देखिएपछि घर आएका दुई बर्ष भए । श्रीमती बिरामी परेपछि चार छोरा–छोरीसहितको परिवार श्रीमानको काँधमा छ । तर महिनौ भए काममा जान नपाएको । ‘औषधि छोडेपछि समाल्नै गाह्रो भएकाले प्राय काममै गएको छैन,’ उनले भने,‘काम नगरेपछि पेट कसरी पाल्ने कैयन रात भोकै सुत्यौं ।’ उनले काम गर्ने अवस्था नभएकाले गाउँमा क्रृण नपत्याएपछि औषधि खुवाउन छोडेको बिडम्बना सुनाए ।
घरका भित्ता ठोक्ने, सामान फाल्ने र गाउँ डुल्ने भएपछि बाध्य भएर साङलोमा बाँधेर राखेको सुनारले बताए । जेठा कमल सुनार घरमै छन् । गत बर्ष बिदेश जान खोजेका एक लाख पनि आमाकै उपचारमा खर्च गरे ।
तर आमालाई निको भएन् । उनी पनि बिदेश जान पाएनन् । ‘बिदेश जान खोजेको क्रृण आमाकै उपचारमा खर्च गरे, अहिले खाने उपति छैन,’उनले भने,‘ औषधि खान नपाएर आमाको समस्या बल्झिएको छ ।’
सुनारको एक छाले घरमा जेनतेन गाउँपालिकाले दिएको टीनको ओत छ । तर मिटर जोडेर बक्ति बाल्ने अवस्था छैन् । ‘गाउँपालिकाले दिएको मिटर जोडन नसकेर अँध्यारोमै बसेका छौ,’ कमलले भने,‘ खरे झुपडी भत्काएर अहिले टीनको ओत मात्रै छ ।’ अहिले स्थानीय तथा पत्रकार सुमन पन्थी मानसिक रोगी कमला सुनारको उद्धार र उपचारमा जुटेका छन् ।
उनले गाउँमा चन्दा संकलन गरेर भएपनि उनको उपचारको पहल गरिरहेकाले सवैलाई सहयोग गर्न आग्रह गरे । सुरुमा पनि करिव दुई लाख खर्च लागेकाले अब त्यो रकम जुटाउन बिपन्न परिवारको कुनै उपाय नभएको बताए ।
गाउँपालिकाले तत्काल २० हजार सहयोग गरेको वडाअध्यक्ष बेद प्रसाद पन्थीले बताए । उनले गाउँपालिकाको राहत कोषबाट गाउँपालिका प्रमुखले स्वविवेकीय निर्णयबाट २० हजार दिनसक्ने व्यावस्था भएकाले अहिलेलाई सो रकम सहयोग गरेको पन्थीले जानकारी दिए ।