काठमाडौँ-सरकारले लकडाउन खुकुलो बनाउँदै पसल खोल्न र छोटो दुरीका गाडी चलाउन दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने र सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले बिहिबारबाट नै बजार खोल्न दिने निर्णय भएको छ।
मन्त्रिपरिषद्को बुधबार राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो ।
'ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ,' मन्त्री पुनले भने ।
जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।
सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।