बुटवल-भारतबाट आएर अर्घाखाँचीको मालारानीमा क्वारेन्टिनमा बसेका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको बुटवलमा उपचार गरी फर्कर्दै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएपनि उनलाई भर्ना नगरी फिर्ता लगेको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले बिरामीलाई भर्ना गर्नुपर्ने भएपनि आफन्तले भर्ना नगरी फिर्ता लगेको बताए । ‘भर्ना गर्ने केस रहेछ भन्नुभएको रहेछ तर आफन्तहरूले बिरामीलाई गाडीबाटै नझारी लगेका रहेछन्, बिरामीलाई अस्पतालमा भर्ना गरिएको थिएन'-उनले भने ।
उपचारपछि घर फर्कने क्रममा गोरुसिङ्गे-सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिए । उनको स्वाब परीक्षणका लागि पठाइएपनि रिपोर्ट आएको छैन ।