गुल्मी–गुल्मीको रेसुंगाको एक क्वारेन्टाइनमा ३६ वर्षका पुरुष छन् । उनी कोरोना भाइरस संक्रमित हुन् ।
उनी २ वर्षदेखि ठूलो आन्द्रामा भएको क्यान्सरको समस्याले पीडित छन् । उनमा रक्तअल्पताको समस्या देखियो ।
कोरोना भाइरसबारेका भ्रमका कारण कतिपय ठाउँमा क्वारेन्टाइन बनाउन, आइसोलेशन तयार गर्न र संक्रमितको उपचार गर्न नै अवरोध भइरहेका बेला उनलाई रगत दिने को ? गुल्मीमा भारतबाट आएकाहरुलाई गाउँका विद्यालयमा व्यवस्थापन गर्न मुस्किल परेको थियो ।
कैयन व्यक्तिहरु जीपले बोक्न नमानेका कारण सदरमुकामबाट ट्याक्टरमा गाउँ पुगेका थिए । बिरामीहरु एम्बुलेन्सले नबोकेका कारण थुप्रै व्यक्ति समस्या परे । सचेतनाभन्दा त्रास बढी भएकाले गाउँ समाजमा घर र टोल बाराबारको अवस्था छ ।
यस्तो अवस्थामा रेसुङ्गा नगरपालिका ९ को आइसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमित व्यक्तिलाई उपचारमै संलग्न स्वास्थ्यकर्मीले रगत दिए । धुर्कोट गाउँपालिकाका ३६ वर्षीय कोरोना संक्रमितलाई आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत दिइन् ।
उनी भारतबाट आएका थिए । उनको कोरोना संक्रमणको पुष्टि भएपछि १४ दिनदेखि उपल्लो तम्घासको आइसोलेसनमा उपचार भइरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।
उनलाई रक्तअल्पताको समस्या देखिएपछि आइतबार रगत दिइएको पच्याले जानकारी दिए । ‘कोरोना लागेकै कारण आफ्नै आफन्त र समुदायको मान्छेलाई बहिस्कार गरिएका दुखद खबर सुनिएका छन््,’–उनले भने,–‘अहिलेको परिस्थितिमा यो काम उपचारसँगै संक्रमित प्रतिको सद्भाव हो ।’
रक्तदान गरेकी स्वास्थ्यकर्मी छन्त्यालले आफुले स्वतस्फूर्त रुपमा रगत प्रदान गरेको बताइन् ।
छन्त्यालले विपन्न व्यक्तिमा क्यान्सरसँगै कोरोना संक्रमणको पीडा र अहिले रक्तअल्पता देखिएकाले आफुले रगतदान गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । कोरोना संक्रमणको पुष्टि भएदेखि अहिलेसम्म आफुहरु उनकै स्वास्थ्य प्रति गम्भिर छत्यालले बताइन् ।