बुटवल–कपिलवस्तुमा बैंकका शाखा प्रबन्धकसहित थप २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५ सय ४७ पुगेको छ । आइतबार यशोधरा गाउँपालिकामा १३, महाराजगञ्ज नगरपालिकामा ९ र कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यशोधरा गाउँपालिकाका २७ वर्षकी १ जना महिला र २० वर्षदेखि ४४ वर्षसम्मका १३ जना पुरुष रहेका छन् । महाराजगञ्ज नगरपालिकाका ६ वर्षदेखि ५१ वर्षसम्मका ९ जना पुरुष तथा कपिलवस्तु नगरपालिकाका ४० वर्षका एक जना पुरुष रहेका छन् ।
आइतबार कपिलवस्तुमा एक बैंकका शाखा प्रबन्धकमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । कपिलवस्तु नगरपालिकाले पठाएको स्वाबको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमूना परीक्षणमा तौलिहवाको एक बैंकका शाखा प्रबन्धकमा पनि कोरोना देखिएको छ ।
वित्तिय क्षेत्रका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको यो नेपाल मै पहिलो हो । कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाका संयोजक उमेश गुप्ताका अनुसार नगर क्षेत्रमा स्वाब संकलन गरिरहेको बेला शाखा प्रबन्धक आफै स्वाब दिन त्यहाँ पुगेका थिए ।
उनी सहित ६४ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाईएको थियो । प्राप्त नतिजा अनुसार बैंकका शाखा प्रबन्धकसहित सबैको नतिजा नेगेटिभ आएको संयोजक गुप्ताले बताए ।
यसअघि कपिलवस्तुमै चार सुरक्षाकर्मी, चार सञ्चारकर्मी, २ स्वास्थ्यकर्मी, दुई कर्मचारी, एक जना वडाध्यक्ष समेत संक्रमित भएका थिए ।
आइतबार नै कपिलवस्तुका १० जना निको भएर घर फर्किएका छन् । योसँगै कपिलवस्तुमा कोरोनामुक्त हुनेको संख्या ४२ पुगेको छ । बुटवल र दाङको दुई आइसोलेसन सेन्टरमा उपचाररत १० जना कोरोनामुक्त भएका हुन् ।