काठमाडौं-धुलिखेल अस्पतालमा मृत्यु भएकी बाह्रबिसेकी २९ वर्षीया महिलाको दोस्रोपटक गरिएको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ।
धुलिखेलमा जाँच गर्दा संक्रमण पुष्टि भएपछि टेकुस्थित प्रयोगशालामा दोस्रोपटक जाँच गर्दा पनि रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले जनाएको छ। धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले दोस्रो परीक्षण पनि कोरोना पोजेटिभ देखिएको र मृत्युको कारण कोरोना पुष्टि भएको जानकारी दिए।
डा. ताम्राकारका अनुसार श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेको थियो। बिहीबार राति अस्पताल ल्याइपुर्याइएकी ती महिलाको सोही राति मृत्यु भएको र शुक्रबार परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो।
अहिले अस्पतालमा महिलाका कुरुवा, उपचार संलग्न जनशक्ति र नवजात शिशु र आफन्तको समेत नमुना संकलन गरी परीक्षण सुरु भएको छ। वैशाख २३ गते ती महिलाको त्रिवि शिक्षण अस्पतालमा नर्मल सुत्केरी भएको थियो । वैशाख २४ गते डिस्चार्ज गरिएकी उनलाई बिहीबारदेखि श्वासप्रश्वासमा अप्ठ्यारो सुरु भएको थियो।