बुटवल-छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको छ ।
कपिलवस्तु र रुपन्देहीबाट अर्घाखाँची प्रवेश गर्ने नाकाहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिए ।
कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पत्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा प्रहरी परिचालन गरेको छ ।
कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।
उनले मुख्य बाटोबाहेकका जंगलका सानतिना सडकबाट प्रवेश गर्ने संभावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । अर्घाखाँचीमा रुपन्देहीको सालझण्डी र कपिलवस्तुको गोरुसिंगेबाट प्रवेशका मुख्य नाका रहेपनि अरु सडक भएर पनि गाउँ जानेहरु बढेका छन् ।
अर्घाखाँचीको सीमावर्ती जिल्ला कपिलवस्तु र रुपन्देहीमा मंगलबार मात्रै १७ जनामा संक्रमण देखिएको छ ।