बुटवल-रुपन्देहीको कोटहीमाई गाउँपालिकाको २५ वर्षीय कोरोना संक्रमित युवाको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ' आएको छ।
सीमामा खटिएका सुरक्षाकर्मीलाई छलेर वैशाख ४ गते राती नेपाल छिरेका ती युवक त्यसै रात आफ्नो दाइ र साथीको प्रत्यक्ष सम्पर्कमा आएका थिए। त्यस्तै राती मर्चवारी गाउँपालिकास्थित सानीमाको घरमा सुतेको र बिहान सम्मरीमाई गाउँपालिका स्थित दिदीको घरमा खाना खाएको खुलेको थियो। वैशाख ५ गते उनको दाइले उनलाई स्थानीय क्वारेन्टाइनमा पुर्याएका थिए। यस दौरानमा संक्रमितको सम्पर्कमा आएका २४ जनाको नमूना जाँच गरिएको थियो।
'संक्रमितको सम्पर्कमा आएका २४ जनाको कोरोना परीक्षणको रिपोर्ट 'नेगेटिभ' आएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।
नेपाल छिरेपछि उनी २४ जनाको सम्पर्कमा आएको पाइएपछि त्यही अनुसार २४ जनाको परीक्षण गरिएको थियो। २४ जना मध्ये प्रत्यक्ष सम्पर्कमा आएका १० जनाको यसअघि वैशाख २१ गते नै भैरहवा प्रयोगशालामा परीक्षण गरिएको थियो। प्रयोगशालामा परीक्षण किटको अभाव भएपछि बाँकी १४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। जसको रिपोर्ट बुधबार बिहान आएको हो।
युवामा संक्रमण पुष्टि भएपछि पुनः परीक्षणका लागि उनको स्वाब संकलन गरी काठमाडौं पठाइएको छ। तर, उनको रिपोर्ट हालसम्म नआएको प्रमुख डा. गिरीले बताए । संक्रमित युवा विशेष कोरोना (अस्थायी) अस्पताल बुटवलमा उपचारत छन् । उनको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ।
रुपन्देहीमा संक्रमित पुष्टि भएपछि सर्वसाधरणमा त्रास बढेको थियो र कोटहीमाई गाउँपालिको पुर्निहवा गाउँलाई सिल गरिएको थियो। सम्पर्कमा आएका २४ जनालाई मर्चवार क्षेत्रमा रहेको तीन वटा गाउँपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको छ।