नेपालगञ्ज – नेपालगञ्जमा नौ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालगञ्जमा १० जना कोरोना संक्रमित भएका छन् । डीएसपीरोडका ६० वर्षीय व्यक्तिमा कोरोना देखिएपछि उनका आसपासका व्यक्तिमा जाँच गर्दा नौ जना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्ती र उनले पढाएका ९० जनाको स्वाव लिइएकोमा ३० जनाको रिपोर्ट आएको हो ।
त्यसमध्येमा नौ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए ।
संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । उनको सम्पर्कमा रहेका अरु केही व्यक्तिको आइतबार पनि स्वाव लिइएको छ ।
संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ । १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सील गरिएको छ ।
वडा नं. ८ को जुलाहनपुरुवामा रहेको मस्जिदमा उनी दैनिक पढाउन जाने गर्दथे । जुलाहनपुरुवा टोललाई नै सील गरेर क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । संक्रमितलाई खजुरास्थित आइसोलेसन कक्षमा राखिएको छ ।