बुटवल-बुटवलका क्वारेन्टाइनमा बसेका ४४ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बुटवल–१२, तामनगरमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका ४४ जनाको आरडीटी र पीसीआर परीक्षण गरिएको र उनीहरु सबैमा कोरोना संक्रमण नदेखिएको बुटवल उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।
उनीहरु तीन वर्षीय बालकदेखि ५७ वर्षीय पुरुष सम्म छन् । उनीहरु नेपालका विभिन्न ठाउँमा काम गर्ने कामदार र तिनका आश्रित परिवार हुन् । उनीहरुलाई सुरुमा १४ दिन क्वारेन्टाइनमा राखेर आरडीटी परीक्षण गरिएको थियो । पछि सबैको नमुना संकलन गरि ३३ जनाको पीसीआर परीक्षण र १० जनाको आरडीटी परीक्षण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन बुटवलमा सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम भइरहेका छन् । विभिन्न ठाउँबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।
बुटवलले १९ वटै वडाहरुलाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालनमा छ । ती क्लिनिकहरुमा हालसम्म झण्डै चार हजारको स्वास्थ्य परीक्षण भएको छ । ज्वोरो आएका र रुघाखोकी लागेकाहरु सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमा जचाउन आएका थिए । उनीहरुलाई मौसमी रुघाखोकी लागेको र हटलाइन सेवाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहने गरि परीक्षण पछि फर्किएका छन् ।
विपन्न सुत्केरीलाई खाद्य पोषण सामग्री प्रदान
बुटवलले विपन्न परिवारका सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गर्दै आएको छ । यसैक्रममा लकडाउनको अवधिमै विभिन्न वडाका ७० जना सुत्केरी महिलालाई खाद्य पोषण सामग्री प्रदान गरिएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । उपप्रमुख आचार्यसहित स्वास्थ्य शाखाका कर्मचारीहरु र महिला स्वास्थ्य स्वयमसेविकाहरु सामाजिक दुरी कायम गर्दै सुरक्षाको प्रवन्ध सहित पोषण सामग्री वितरण गरिएको थियो ।
बुटवलले उपप्रमुख गर्भवति तथा सुत्केरी भेटघाट कार्यक्रम शिर्षकमा मुलुकमै यसखालको नमुना काम सुरु गरेको थियो । यो कार्यक्रमबाट विपन्न समुदायका सुत्केरी र गर्भवती महिला प्रत्यक्ष लाभान्वित भएका छन् ।
सबै टोलमा विपन्नलाई राहत वितरण जारी
बुटवलले राहत वितरणका लागि कार्यविधि बनाएर लक्षित समूदायलाई नै लाभ पुग्नेगरि राहत वितरणको काम सुरु गरेको हो । यहाँ अहिले विभिन्न चरणमा राहत वितरण भइरहेको छ । पहिलो चरणमा झण्डै सात हजार घर परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा भने संख्या बढेर झण्डै १० हजार घर परिवारलाई राहत वितरण भइरहेको छ ।
१९ वटै वडा, त्यहाँका टोलविकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरु समेतको संयुक्त समन्वयमा संकलन भएका घर परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु भएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउने र विपन्न परिवारलाई लगत संकलन गरेर लक्षित समूदायमै पुग्नेगरि राहत वितरणको काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।
राहत वितरणको कामलाई प्रभावकारी, व्यवस्थित र लक्षित समुदायमा सहजै पु¥याउनका लागि बुटवलले नै मुुलुकमै पहिलोपटक कार्यविधि बनाएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको दाबी छ ।
सोही कार्यविधि अनुसार सामाजिक निजी क्षेत्र र संघसंस्थाको सहकार्यमा राहत संकलन तथा वितरणका काम भइरहेको छ । कार्यविधिअनुसार प्रति परिवार २० किलो चामल, दुई किलो दाल, दुई लिटर तेल, एक किलो नुन, हात धुने साबुन वितरण सुरु गरिएको उनले बताए ।
वरिष्ठ अधिकृत विजयदेव भुर्तेलको नेतृत्वमा सबै टोलमा राहतको व्यवस्थापन र लक्षित समुदायको अवस्थाका बारेमा अनुगमन र स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहको नेतृत्वमा सबै वडाको समन्वय हुनेगरि फिवर क्लिनिकमा चेकजाँचको काम भइरहेको शर्माको भनाइ छ ।