विगतका वर्षहरुमा गायिका कल्पना कुसुमलाई महिलाहरुको महान पर्व तीजको बेला भ्याईनभ्याई हुन्थ्यो। उनी कहिले साँस्कृतिक कार्यक्रममा कहिले दरखाने कार्यक्रममा व्यस्त हुन्थिन्। यति मात्र होइन। उनी विदेशमा आयोजना हुने तिजका कार्यक्रममा समेत सहभागी हुन्थिन्। प्रत्येक वर्ष उनले एकल तीज गीत बजारमा ल्याउने गर्थिन्। तर, यस वर्ष उनले तीजको गीत बजारमा ल्याइनन्।
कुसुम भन्छिन्–‘यस वर्ष कोरोना संक्रमणका कारण गीत रेकर्ड गर्न र भिडियो निर्माण गर्न काठमाडौँ जान नसकेको हुनाले नयाँ गीत ल्याउन सकिन।’ विगत ४ वर्षदेखि तीजका कार्यक्रममा व्यस्त भइरहेकी गायिका कुसमले अहिले सबैभन्दा बढी मिस स्टेजलाई नै गरिरहेको सुनाइन्। बुटवल लकडाउन भएकाले आफुसँगै माइती परिवार र समाजलाई सुरक्षित राख्न माइत नगइ घरका सदस्यसँग नै यसपालिको तीज मनाउने योजना रहेको कुसुमले बताइन्।
कलाकारिताकै क्षेत्रमा उद्घोषण यात्रामा चर्चा बटुलेकी उद्घोषक हुन् शीतल शर्मा। पछिल्लो समय उनी गायिकाको नामले समेत परिचित छिन्। नेपालमा आयोजना हुने मेला महोत्सवदेखि हरेक कार्यक्रममा उनी पुगेकै हुन्थिन्। विदेशमा हुने कार्यक्रममा पनि व्यस्त नै हुन्छिन्। शर्माले तीजका गीत बजारमा ल्याउन थालेको करिब पाँच वर्ष भयो।
विश्वव्यापी फैलिएको कोरोना महामारीकै बीच पनि उनले ‘शितलु' नामक गीत बजारमा ल्याइन्। वाग्लुङकी चेली शितल अहिले काठमाडौमा छिन्। गतवर्षको तीजमा उनी अष्ट्रेलियामा थिइन्। यस वर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ ? शर्मा भन्छिन्–‘लकडाउनमा छौँ, यो समयमा विशेष गरी स्टेज र दर्शक श्रोतालाई सम्झिरहेकी छु। यो वर्ष तीजको रौनकताले छुन सकेन। समय समयमा फेसबुक लाइभमा जोडिएर भएपनि साथीभाई, दिदीबहिनीहरु सँग शुभकामना साटिरहेकी छु, यो परिस्थितिमा आफु सुरक्षित हौँ र अरुलाई पनि सुरक्षित हुन आग्रह गरौँ।’
बुटवलमा बस्दै आएकी कान्ति चुँदाली सरकारी सेवामा प्रवेश गरेको करिब ८ महिना भयो। हाल उनी पाल्पाको पुर्वखोला गाउँपालिकामा कार्यरत छिन्। चुँदालीको बिहे भएको आठ वर्ष भइसक्यो। उनको माइती कपिलवस्तु हो।
बुटवलबाट नजिकै भएकाले उनी प्रत्येक वर्षका तीजमा माइत जान्थिन्। बुवा–आमा, दिदी–बहिनीसँग रमाइलो गरेर तीज पर्व मनाउथिन्। तर, उनले यस वर्ष भने तीज आएको अनुभुत नै गर्न पाइनन्। एकातिर कोरोनाको कहर, लकडाउन। अर्कोतिर भने तीजमा न माइत जान पाइन्, न घर परिवारसँगै रमाइलो गर्न। चुदालीले घर र माइती परिवार सम्झिदै पाल्पामा घरभित्रै यस वर्षको तीज मनाउनेछिन्। उनी भन्छिन्-'न माइती जान पाइयो, न त घर जान पाइयो, खास रमाइलो भएन यसपालिको तीज।'
कोरोना महामारीको समयमा कोरोना संक्रमणसँगै अन्य समाचार लेख्न मै व्यस्त छिन् कान्तिपुरकर्मी पत्रकार अमृता अनमोल। दैनिकजसो उनी रिपोर्टिङका लागि फिल्डमा नै हुन्छिन्। पत्रकार अनमोलले यसपालिको तीज घरमै मनाउँदैछिन्। ‘रिपोटिङका लागि प्राय: म बाहिर हिडिरहन्छु, संक्रमणबाट बच्न र माइती परिवारलाई सुरक्षित गराउन पनि माइत जाँदिन’–अनमोलले भनिन्।
सैनामैनाको मुर्गियामा समुदायमा महिलाहरु मार्फत कोरोना विरुद्ध एउटा सचेतनाको अभियान फैलियोस् र सबै सुरक्षित हुन् मद्धत पुगोस् भन्ने अभियानको नेतृत्व गरिरहेकी छिन्, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाकी हवल्दार सीता बस्नेत। महिला प्रहरीहरुको टोली समय समयमा नारी सचेत आमा हुन्, सन्ततिको रक्षा गर्नु आमाको धर्म हो, कोरोना संक्रमण बढ्दैछ, सजग र जिम्मेवार बनौँ, तपाइको मास्क खोइ ? लेखिएका प्लेकार्ड बोकेर टोलटोलमा पुग्छ।
यस्तो सचेतना कार्यक्रमको नेतृत्व गरेकी बस्नेत २०६१ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन्। सरकारी सेवामा प्रवेश गरेको एक वर्षपछि उनी वैवाहिक बन्धनमा बाँधिइन्। यस वर्षको तीजमा उनी ड्युटीमा खटिनेछिन्। बस्नेत भन्छिन्–‘चाडपर्वका बेला त हामी प्रहरीहरु झन् ड्युटीमै खटिनुपर्छ, त्यसैमाथि यस वर्ष कोरोनाको कहर छ, सैनामैनामा पनि लकडाउन छ, जनताको सेवामा नै हुनेछु, सबै दिदीबहिनीलाई घरमै बसेर तीज मनाउन आग्रह गर्छु।’
रुपन्देही भदौ ७ गते सम्म लकडाउन छ। हाल कोरोना संक्रमणको जोखिम बढेसँगै बैँक तथा वित्तिय संस्था पनि बन्द छन्। तरपनि बैंकमा काम गर्ने दिदीबहिनी तीज मनाउन माइती जान पाएनन्। अर्घाखाँची माइत भएकी सीता भुसाल बैँकमा काम गर्न थालेको १२ वर्ष पुगिसक्यो। हाल एनएमबी बैैँक शाखा कार्यालय रामनगर बुटवलमा इन्चार्जको रुपमा कार्यरत छिन्।
कोरोना भाइरसको महामारीका कारण यस वर्षको तीज उनले आफ्नो घर जीतगढीमै मनाउनेछिन्। ‘विगतका वर्षहरुमा पनि तीज पर्वमा खासै माइत जान भने पाउँथिन, कार्यालयमै व्यस्त हुन्थेँ, सबै कर्मचारी साथीहरु मिलेर सँगै तीज मनाउथ्यौँ, यस वर्ष भने बिदा छ, घरमै खानपिन, नाँचगान र रमाइलो गरेर तीज मनाउनेछु’–उनले भनिन्।
मुर्गियामा कस्मेटिक व्यवसाय गरेर बसेकी चित्रकला कंडेललाई भने यसपालीको तिज रमाइलो लागेको छैन। उनका तीन छोरीहरु छन्। बिहे भएकी जेठी छोरी काठमाडौँमा छिन्। कोरोनाको डरले छोरी तीजमा माइत आइनन्। हाल कान्छी छोरी पनि काठमाडौँमा छिन्। कंडेल आफु पनि माइत जान पाइनन्। कंडेलले सुनाइन्–‘न सबै छोरीहरु साथमा छन्, न म माइती जान पाएँ, छोरीहरु नै सँगै नभएपछि तीज पनि आए जस्तो लागेको छैन।’
लेखक तथा सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार माया गौतमले गत वर्षहरुका तीजमा तीज पर्वको सुरुवात, पर्वको महत्व, किन संरक्षण गनुपर्ने ? तीजमा हुने गरेका विकृतिलाई कसरी रोक्न सकिन्छ जस्ता विषयवस्तुमा केन्द्रित कार्यक्रमहरुमा कार्यपत्रहरु प्रस्तुत गर्थिन्। कोरोना संक्रमणका कारण यसवर्ष कुनै पनि तीजका कार्यक्रम नहुँदा नयाँ पुस्तालाई तीज पर्वको महत्वबारे उनले बुझाउन पाइनन्।
गौतम उमेरले ५१ पुगिन्। ४ वर्षदेखि तीज पर्व मनाएको याद छ उनलाई। उनी विगतका वर्षमा तीज मनाउन प्रायः काठमाडौँ जान्थिन्। तर यस वर्ष बुटवल घरमा नै तीज पर्व मनाउनेछिन्।
तीजबारे गौतम भन्छिन्–‘लामो समयसम्म भेटघाट नभएका चेलीबेटी माइतीमा जम्मा भएर सुखदु ःख, आफ्ना उन्नतिप्रगति लगायतका बारेमा चर्चा गर्दै बुवा–आमा, दाजु–भाई, दिदी–बहिनी सबै मिलेर तीजका गीत गाएर नाचगान गर्ने पर्व हो, यो चाडले बाल्यकाल सम्झाउँछ। विगतलाई सम्झाउँछ, साथीभाईसँग भेटघाट गराउँछ।’
उनले यस वर्षको तीजमा आफन्त कहाँ नजाऔ र पाहुना पनि नबोलाऔ भन्दै सबै महिला दिदीबहिनीहरुलाई घरमै बसेर मनाउन अनुरोध समेत गरिन्।
शुक्रबार नेपाली नारीहरुको विशेष दिन हो। नारीहरुले मनाउने एउटा महत्वपूर्ण पर्व–हरितालिका तीज। यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली महिलाहरुले स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि मनाउन थालेका छन्।
तर, यस वर्षको हरितालिका तीजमा खासै रौनकता छाएन। चहलपहल पनि भएन। यसको कारण हो–विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणको महामारी।
एक महिना अघिदेखि हुने तीजका सांस्कृतिक कार्यक्रम, पार्टी प्यालेसमा आयोजना हुने दर खाने कार्यक्रम यस वर्ष ठप्प नै भए। यति मात्र कहाँ हो र ? आफ्ना छरछिमेकी, दिदी–बहिनी, आमासमूह जम्मा भएर पनि नाचगान भएनन्। लकडाउन र कोरोना संक्रमणको जोखिमले महिलाहरु न माइत जान पाए न आफन्तलाई बोलाएर घरमै रमाइलो गर्न पाए। न माइत जान पाइयो न घरमा रमाइलो भयो।