बुटवल-बुटवलमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा भेन्टिलेटर र आइसियू जडान गरिएको छ।
अस्पतालमा चारवटा भेन्टिलेटर र आठ वटा आइसियू बेड तयार भएका छन्। उपकरण जडानसँगै अब कोरोना संक्रमण देखिएमा बिरामीलाई उपचार गर्न सहज हुने भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो।
भेन्टिलेटर र आईसीयु सेवाको सोमबार शुरू गरिएको छ । सेवा शुरू गर्ने क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस कोभिड–१९ रोगका विरुद्ध अहिलेसम्म प्रदेशमा देखिएको सावधानीलाई ध्यानमा राख्दै स्वास्थ्य सुविधा अझ बलियो बनाएको बताए।
यसखालका संरचनाको निर्माणले अब प्रदेशलाई सुरक्षित राख्न सकिने गरी मनोवल बढाएको उनले बताए। मुख्यमन्त्री पोखरेलले प्रदेशमा निर्माण भएका यस्ता स्वास्थ्य सेवाका संरचनाले उपचार सेवा कहाँ पाउने भन्ने चिन्ता अन्त्य भएको उनको भनाइ थियो।
संक्रमण नियन्त्रणका लागि आवतजावतलाई नियन्त्रण गर्दै समाजिक दूरी कायम गर्नु नै प्रभावकारी उपाय रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले प्रदेशका सबै जिल्लामा यहीँ उपाय अबलम्बन गरिएको बताए। उनले सबै नागरिकले यहीँ उपाय अबलम्बन गरिरहे सम्म संक्रमण फैलिन नपाउने बताउँदै स्वनियममा रहन आग्रह गरे ।
प्रदेशमा सरकारको आग्रहलाई जनताले सहजतापुर्वक पालन गरेकाले नै अहिलेसम्म सक्रमण रोक्न सकिएको उनको भनाइ थियो। बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु राजेन्द्र खनाल र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल निर्माणका क्रममा भएका सहकार्यलगायतका बारेमा जानकारी गराए । बुटवलको धागो कारखानाको भवनमा ५० वेडको कोरोना विशेष आइसोलेन अस्पताल निर्माण भएको छ ।
उक्त अस्पतालमा हालसम्म ३६ जनाको उपचार भएको छ । जसमध्ये ३५ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएको मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिए।
अस्पतालमा उपचार गराउन आएका रुपन्देहीको सैनामैना नगरपालिकाका बाबुराम थापाको उपचारका क्रममा निधन भएको छ । उनको कोरानाका कारण निधन नभएको रिपोर्ट यसअघि नै आइसकेको छ । उनलाई टाइफाइडलगायतका समस्या रहेको भन्दै स्वास्थ्य रिपोर्ट सार्वजनिक भएको थियो ।