गुल्मी– गुल्मीका स्थानीय तहमा क्वारेन्टाइन निर्माणको लहर चलेको छ । जिल्लाका दुई नगर र १० गाउँपालिकाका मध्ये गुल्मी दरवार गाउँपालिकाले बाहेक शनिबारसम्म चार सय एक क्वारेन्टाइन बेड निर्माण गरिएको छ ।
जसमा रेसुङ्गा नगरपालिकाले १६ वेड, मुसिकोट नगरपालिकाले ८६ वेड, कालिगण्डकी गाउँपालिकाले एक सय १७ वेड, सत्यवति गाउँपालिकाले आठ वेड, रुरु क्षेत्र गाउँपालिकाले पाँच वेड, चन्द्रकोट गाउँपालिकाले १६ वेड छत्रकोट गाउँपालिका पाँच वेड निर्माण गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
त्यस्तै इस्मा गाउँपालिकाले ११ क्वारेन्टाइन र सात आइसोलेसन वेड निर्माण गरेको छ । मालिका गाउँपालिकाले २४ वेड, धुर्कोट गाउँपालिकाले एक सय र मदाने गाउँपालिका ११ वेडको क्वारेन्टाइन निर्माण गरेको पाण्डेयले बताए ।
जिल्लामा अहिलेसम्म ३६ जना मात्रै क्वारेन्टाइनमा छन् । जिल्लाको मुसिकोट नगरपालिकामा छ जना, इस्मा गाउँपालिकामा ११, धुर्कोट गाउँपालिकामा १० जना र मालिका गाउँपालिकामा १० जना गरेर ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सवै पछिल्लो समय भारतबाट आएका हुन् ।
४ सय घरमा ६ जना क्वारेन्टाइनमा
मुसिकोट नगरपालिकाले संकलन गरेको तथ्यांकमा तीन सय ९२ जना नेपाल बाहिरबाट गाउँ आएका छन् । सवैभन्दा बढी भारतबाट तीन सय ५० र अन्य मुलुकबाट ४२ जना आएको मेयर सोमनाथ सापकोटाले बताए ।
अहिलेसम्म वडा नं ४ र ५ मा गरेर छ जना मात्रै क्वारेन्टाइनमा छन् । उनीहरु सवै पछिल्लो समय भारतबाट गाउँ आएका हुन् । उनले जिल्लाको प्रमुख रिडी नाका व्यावस्थापनमा कम्जोरी भएका कारण नागरिकहरु घरमै पुगेकाले क्वारेन्टाइनमा ल्याउन मुस्किल परेको बताए ।
‘नाकाबाटै पहिचान गरेर सम्बन्धित वडामा ल्याउन सकेको भए क्वारेन्टाइनमै व्यावस्थापन गर्न सकिन्थ्यो,’सापकोटाले भने,‘ घर पुगेकालाई अब क्वारेन्टाइन पुराउन सकिएन् ।’ मुसिकोट नगरपालिकाले वडा नं ५ र ९ मा बाहेक सवै सात वडामा ८६ वेडको क्वारेन्टाइन बनाएको छ । वडा अनुसार क्वारेन्टाइनमा १० देखि २५ वेडको व्यावस्था गरिएको छ ।
क्वारेन्टाइन निर्माण ‘बिहेपछिको पोते’
जिल्लाका अधिकांश स्थानीय तहलाई बल्ल क्वारेन्टाइनको लहर चल्यो । जसका कारण अहिले गाउँ–गाउँ असुरक्षित बनेका छन् । अहिले स्थानीय तहहरुले संकलन गरेको नेपाल बाहिरबाट आएका नागरिकहरुको विवरणको आधारमा स्पष्ट बनाएको छ । गाउँ आउने अधिकांश चैत पहिलो हप्तानै गाउँ आइपुगेका छन् ।
तर चैत ७ गते जिल्ला स्तरिय सर्वपक्षिय बैठकले गाउँपालिका र वडाहरुमा क्वारेन्टाइन र आइसोलेसन हाउस बनाउने निर्णय गरेका छन् । सदरमुकामको रेसुङ्गा नगरपालिकामा एक सय ३० जना भारतबाट र १९ जना भारत बाहेकका मुलुकबाट घर आएको स्वास्थ्य संयोजक बोम अर्यालले बताए । ती मध्ये ८० प्रतिशत चैत पहिलो हप्ता गाउँ आएका थिए ।
सदरमुकामकै क्वारेन्टाइन पनि चैत ११ गते मात्रै निर्माण गरिएको छ । अन्य वडाका अझै कुनै सुरसार छैन् । नगरपालिकाले १६ जनाको क्षमता भएको क्वारेन्टाइन निर्माण गरेको छ । अहिले क्वारेन्टाइनमा एक जना पनि नरहेको संयोजक अर्यालले जानकारी दिए ।
मदाने गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलका अनुसार भारतबाट एक सय ४० र अन्य मुलुकबाट १० जना गाउँ आएका छन् । उनीहरु पनि ८० देखि ९० प्रतिशत चैत पहिलो हप्ता गाउँ आएका छन् । गाउँपालिकाले बल्ल ११ वेडको क्वारेन्टाइन वेड निर्माण गरको छ । तर क्वारेन्टाइनमा एक जना पनि छैनन् ।
बाहिरकालाई गाउँको आश, गाउँकालाई उनीहरुको त्रास
प्रत्येक स्थानीय तहको तथ्यांकका आधारमा भारतबाट आएका बढि छन् । धुर्कोट गाउँपालिकामा भारत लगायत अन्य मुलुकबाट दुई सय १० जना नागरिक गाउँ आएको धुर्कोट गाउँपालिकाको महामारी सूचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिए । गाउँपालिकाले विभिन्न वडामा एक सय वेडको क्वारेन्टाइन बनाएको छ । अहिलेसम्म १० जना भारतबाट आएका मात्रै क्वारेन्टाइनमा छन् ।
प्रत्येक वडामा भारतबाटै आएका धेरै भएकाले उनीहरुलाई घरमै व्यावस्थापन गर्ने काम चुनौतिपूर्ण रहेको बताए । मालिका गाउँपालिकाकामा ५६ जना भारत लगायत अन्य मुलुकबाट नागरिक गाउँ आएका छन् । जसमा भारतबाट ५० र अन्य मुलुकका पाँच जना छन् । अहिलेसम्म भारतबाट आएका १० जना मात्रै क्वारेन्टाइनमा छन् । बाँकीलाई आफुहरुले सकेसम्म घरमै बस्न सुझाव दिए पनि अटेर गर्ने गरेको स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए ।
‘भारतबाट आएकासंग छिमेकी त्रासमा छन, तर उनीहरुलाई कुनै मतलब छैन,’उनले भने,‘ प्रहरी प्रशासनबिना व्यावस्थापनमा मुस्किल पर्ने देखियो ।’ सत्यवति गाउँपालिकामा एक सय १३ भारत तथा १८ जना अन्य मुलुकबाट आएका छन् । चन्द्रकोट गाउँपालिकामा एक सय २३ जना भारत तथा १९ जना अन्य मुलुकबाट गाउँ आएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले बताए ।