बुटवल-प्रदेश नम्बर ५ का तीन जिल्लामा क्वारेण्टाइन राखिने भएकाे छ। बुटवलकाे बुटवल धागो कारखाना, दाङकाे बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने भएको हो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ।
क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ।सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन्।
प्रदेश ५ का ३ जना प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए।प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल र चार वटा मेडिकल कलेज रहेका छन्। प्रदेश नम्बर ५ मा भारतसँग सीमा जोडिएका नाकाहरुमार्फत आवतजावत गर्नेहरुलाई हेल्थ डेस्कमा राखेर परीक्षण गर्न सुरु गरिएकाे छ।
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने रुपन्देहीको बेलहिया नाकामा पनि हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य निर्देशनालयको भनाइ छ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले अहिलेसम्म प्रदेश ५ मा २ वटा केस शंकास्पद देखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमध्ये १ जनामा नेगेटिभ देखिएको र अर्को एक जनाको रिर्पोट आउन बाँकी रहेको बताए।
उनले क्वारेण्टाइन र आइसोलेशन भन्ने शब्दावलीलाई आतंकित पार्ने सूचनाको रुपमा प्रवाह नगर्न र आवश्यक सूचना तोकिएको व्यक्तिमार्फत मात्रै लिन आग्रह गरे।