बुटवल-बुटवलमा कोरोना भाइरसको संक्रमणको आशंका गरिएका युवाको स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको छ।
ती २१ वर्षे युवामा कडा खालको निमोनिया देखिएको र विदेशी व्यक्तिसँग सम्पर्कमा रहेको देखिएकाले उनलाई केही दिन आइसोलेशन (छुट्टै कक्ष)मा राखेर उपचार गरिने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोनाबारेका फोकल पर्शन डा सुदर्शन थापाले बताए।
उनले ती युवाको स्वाब (घाँटीभित्रको र्यालको नमूना) परीक्षणको रिपोर्ट आएपछि कोरोना भए/नभएको पुष्टि हुने बताए। त्यसका लागि ३ दिन लाग्छ। त्यतिन्जेल ती युवालाई अन्य बिरामीभन्दा फरक कक्षमा राखेर लक्षणहरुको उपचार गरिनेछ।
चिकित्सकहरुका अनुसार उनमा कोरोनाको संक्रमण देखिने सम्भावना भने न्युन छ। 'सामान्यतया २१ वर्षको युवामा कडा खालको निमोनिया नदेखिनुपर्ने हो, उनले भने-त्यसैले उनलाई छुट्टै राखेर उपचार गर्ने र परीक्षण गरिएको हो, तर डराईहाल्नुपर्ने अवस्था छैन।'