बुटवल-प्रदेश ५ सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्न भारतबाट आउने गाडी रोक्ने भएको छ। भारतमा कोरोना संक्रमण देखिएकाले भारतबाट आउने र नेपालबाट जाने सार्वजनिक सवारीका साधन रोक्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएका हुन्।
प्रदेश ५ मा रहेका भारतसँगका सीमा क्षेत्रबाट ठूलो संख्यामा आवतजावत् हुने भएकाले प्रदेश ५ मा कोरोना संक्रमणको जोखिम उच्च छ। रुपन्देहीको बेलहिया नाका, बाँकेको रुपौडिया र नवलपरासी, कपिलवस्तु, दाङ, बर्दियाबाट सहजै भारत आउनजान सकिन्छ। खुला सीमानाका कारण सहज आवतजावत् भएकाले कोरोना संक्रमित भएका व्यक्ति आउनसक्ने भएकाले सीमा क्षेत्रबाट आउने सार्वजनिक सवारी साधन रोक्ने निर्णय प्रदेश सरकारले गरेको हो।
भारतीय सीमानाकासँग जोडिएको मुलुककै दोस्रो ठूलो नाका रुपन्देहीको बलहियाबाट संक्रमण नेपाल छिर्नसक्ने भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतीय सीमा नाका हुँदै आउने तेस्रो मुलुकका नागरिकहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाउन पोखरेलले निर्देशन दिए। संक्रमण रोक्न पूर्व तयारीका लागि बिहिबार बसेको बैठकमा मुख्यमन्त्री पोखरेलले आवश्यक सबै तयारी थाल्न सामाजिक विकास मन्त्रालय तथा सो अन्तरगत पर्ने स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन्।
कोरोना संक्रमण रोक्नका लागि सामाजिक विकास मन्त्रालयले हालम्म गरेका क्रियाकलाप तथा निर्णयहरु जानकारी गराउँदै मन्त्री सुदर्शन बरालले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भने देखा नपरिसकेको जानकारी गराए।
प्रदेश ५ अन्तर्गत पर्ने प्रादेशिक स्तरका ४ वटा सरकारी तथा ४ वटा मेडिकल कलेज र प्रदेशका १२ वटै जिल्ला अस्पतालहरुसँग आवश्यक परेको खण्डमा बेड खाली गराई संक्रमितलाई राख्न सक्ने गरी तयारी गरिएको बताए।
स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीले भैरहवा विमानस्थलमा नियमित स्वास्थ्य परिक्षणको काम भैरहेको जानकारी गराउँदै २४ सै घण्टा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीको अभाव नभएको जानकारी गराए।
कोरोना संक्रमण भए नभएको जाँच्नका लागि प्रदेशका विभिन्न नाका तथा विमास्थलमा डेस्क निर्माण गरिए पनि नमूना परिक्षणका लागि भने काठमाण्डौ नै पठाउनु पर्ने अवस्था छ।
संक्रमण भएको आशंका गरिएका व्यक्ति फेला परेको अवस्थामा उपचारका लागि छुट्टै क्वारेन्टाइनको स्थापना गर्न र नमूना परिक्षणका लागि सजिलो र भरपर्दो विकल्प खोज्नका लागि मूख्यमन्त्री पोखरेलले सम्बन्धित निकायहरुलाई निर्देशन जारी गरेका छन्।