दाङ–दाङ जिल्लाको सबै भन्दा नजिकको दुरिमा पर्छ कोइलावास नाका। जुन नाकामा चहलपहल बढ्दै छ। पूर्व पश्चिम राजमार्गदेखि ३३ किलोमिटर टाढा रहेको यो नाकामा दैनिक मानिसहरुको ओहोरदोहोर चलिरहन्छ।
नेपाल प्रवेश गर्नेहरुको नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा बलको टोलीले खानतलासी गर्छ। भारततर्फ जानेहरुको भारतीय सिमा सुरक्षा बल एसएसवीले खानतलासी गर्छ। तर, कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला त्यसको जाँच गर्ने कुनै संयन्त्र छैन। कोरोना भाइरसका संक्रमित स्थलमार्ग हुदै नेपाल प्रवेश गर्ने खतरा रहेपनि यसको रोकथाम बारे कुनै चासो दिइएको छैन। सिमानामा न उपचार गर्ने सामाग्री छ न दक्ष स्वास्थ्यकर्मी नै छन्। सामान्य हेल्थ डेक्स समेत राखिएको छैन।
‘हामीले त सतर्कता अपनाएका छौं। तर, सिमानामा हेल्थ डेक्स छैन। नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य कस्तो छ थाहा पाउन सकिएको छैन्-’नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा वल कोइलावासका प्रमुख विशाल पाण्डेले भने–‘माथिल्लो निकायाट जे निर्देशन हुन्छ हामीले त्यही गर्छौं। अहिले सम्म हेल्थ डेक्स राख्ने बारेमा कुरा चलेको छैन।’
सिमा क्षेत्रमा ओहोरदोहार गर्नेहरुको सुरक्षा जाँच सशस्त्र प्रहरीले गर्ने गरेको छ। तर, स्वास्थ्य संग जोडिएको जाँचको बारेमा स्वास्थ्यकर्मी र उपकरण नहुदा सुरु गर्न नसकिएको पाइएको छ। पूर्वमा कपिलवस्तुदेखि पश्चिममा बाँकेसम्म करिब ८३ किलोमिटर सिमा क्षेत्र दाङ जिल्ला भित्र पर्छ।
गढवा र राजपुर गाउँपालिका भित्र साना ठूला गरी २२ नाका पर्छन्। यी नाका क्षेत्रका नागरिकहरु भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ। ‘बजार खेल्न जानै पर्ने बाध्यता छ। भारतका मान्छेहरु पनि हाम्रो नाका क्षेत्रमा आउदा स्वास्थ्य जाँच गर्ने चलननै छैन्-’सुनपथरी नाका निवासी गोरेन्द्र घर्तीले भने–‘राज्यले हरेक नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकी राखेमा सजिलो हुने थियो।’
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कोइलावास नाकामा हेल्ड डेक्स राख्ने बारेमा छलफल चलिरहेको बताए। ‘अहिले सम्म त राखिएको छैन। अब राख्ने बिषयमा छलफल गर्छौं-’उनले भने–‘जहाँ जोखिम छ। त्यहाँ हेल्थ डेक्स राख्छौं।’
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना भाइरसबाट जोगिन सतर्ककता अपनाउन सबैलाई आह्वान गरिएको जानकारी दिए। तर, नाका क्षेत्रमा मानिसहरुको ठूलो आवत जावत गर्ने संख्या नरहेकाले हेल्थ डेस्कनै राख्न नपरेको बताए। ‘हाम्रोतीर त्यतीठूलो मानिसहरुको फ्लो छैन्’उनले भने–‘यस बारेमा सतर्ककता अपनाउने बिषयमा सार्वजनिक सूचना जारी भने गर्छौं।’