अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ। कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन। कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ। तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ।
- कोरोना कमजोर भाइरस हो। यसको संक्रमण सबैलाई हुँदैन। दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ।
- कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन।
- कोरोना संक्रमणको औषधि छैन। तसर्थ उपचारमा धेरै खर्च हुँदैन। ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने। गाह्रो भएमात्र अस्पताल जाने।
- कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।
- कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ। जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि।
- सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो। गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ।
- विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन।
- बजारमा मास्कको अभाव छ। कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ। बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन। तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन। मास्क भन्दा पंजा महत्वपूर्ण छ।
- बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ।
- कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन। विश्व स्वास्थ्य संगठन, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन्।
- कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी सुरु भएको छ। तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।
- कोरोना भाइरस विरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।
- क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो। तसर्थ डराउनु पर्दैन।
- यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ।
कोरोना संक्रमण, जोखिम हुनसक्ने ठाउँहरु
- सिनेमा घर
- अस्पताल
- बिद्यालय / कलेज
- सार्वजनिक यातायात
- सपिंग मल
- व्यस्त गल्ली
- तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु
- सभा / जुलुस भएका स्थान
- वृद्धाश्रम
- होटेल / रेस्टुरेन्ट
- रंगशाला
- भोजभतेर आदि।
काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं। जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ। घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा/बैठक कोठामा जाने गरौँ।
कोरोनासंग लड्ने क्षमता कसरी बढाउने ?
हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन्। त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो। रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन।
रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ।
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं। हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ। खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं। भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ।
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ। खेल खेल्ने बानी बसालौं।
३. घाममा बसौं।
४. नियमित अनुलोम / विलोम गरौँ। यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं।
६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ।
९. पर्याप्त मात्रामा सुतौं।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ।
१२. दिल खोलेर हाँस्ने गरौँ।
१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ।
१५ . सरसफाइमा अल्छी नगरौं।
पाण्डे जनस्वास्थ्य विज्ञ हुन्।