बुटवल- लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्ने विवरण हेर्दा लाग्छ प्रदेशको रुकुम पूर्व जिल्लामा कोरोना संक्रमणबाट अझै सम्म कसैको ज्यान गएको छैन । निर्देशनालयले पछिल्लो पटक जारि गरेको विवरणमा शनिवार साँझसम्मको तथ्यांक अनुसार प्रदेशको उत्तर पश्चिममा पर्ने रुकुम पूर्वमा कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या शुन्य नै छ ।
तर जिल्लाका पालिका प्रमुखहरुसँग सम्पर्क गर्दा भने अवस्था फरक छ । रुकुम पूर्वको भूमे गाउँपालिकामा मात्र कोरोना संक्रमणबाट हालसम्म ४ जनाले ज्यान गुमाएका छन्। ‘जिल्लाभित्रै दुई जनाको मृत्यु भएको हो, बाँकी २ जनाको जिल्ला बाहिर हो।’ गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले भने ।
जिल्ला बाहिर मृत्यु भएका मध्ये एक जना बैदेशिक रोजगारीबाटै फर्कदै गरेका तर जिल्ला प्रवेश नगररिसकेको अवस्थामा मृत्यु भएको हो। अर्को एक जना अस्थायी रुपमा काठमाण्डौ बसोबास गर्ने हुन् । उनी कोरोनाको दोस्रो लहरमा गाउँ आउँदा विरामी परेकाले हेलिकप्टरबाट रिफर गरेर काठमाडौ लगेको र उतै मृत्यु भएको भूमे गाउँपालिकाका अध्यक्ष बुढामगरले बताए।
यता जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाले जेठ १७ गते ६० वर्षिय पुरुषको मृत्यु भएको भनेर वेवसाइटमा विज्ञप्ती नै राखेको छ । रुकुम पूर्वमा भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्षको पनि संक्रमणबाट मृत्यु भएको छ। उनी पनि पुथा उत्तरगंगाकै हुन्।
पूर्वि रुकुमको सिस्ने गाउँपालिकामा ४ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले बताइन्। स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले पनि जिल्लामा ९ जनाको मृत्यु भएको बताए। मृत्यु भएका मध्ये केही जिल्ला भित्रकै अस्पतालमा र केहीको बाहिर रिफर भएर उपचार हुनेहरु छन्।
प्रदेशको स्वास्थ्य निर्देशनालयले निकालेको तथ्यांकमा अन्य जिल्लाको विवरण पनि तलमाथी परेको छ। कोभिडबाट बढी प्रभावित जिल्ला रुपन्देहीमा हाल सम्म मृत्यु हुनेको संख्या ४ सय ३३ जना रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । तर स्वास्थ्य कार्यालय रुपन्देहीले पछिल्लो पटक निकालेको तथ्यांकमा १४ बढी अर्थात ४ सय ४७ जनाको मृत्यु भएको बताएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्लागत तथ्यांकमा अरु जिल्लामा पनि फरक देखिएको छ। यसबाट प्रदेश भित्रका स्वास्थ्य संयन्त्रहरुबीच समन्वय नभएको देखिन्छ। प्रदेश स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी नेत्रलाल अर्यालले किन फरक पर्यो भन्ने बारेमा बुझ्ने बताए । ‘डाटा इन्ट्रि गर्ने क्रममा केही कम्जोरी भयो होला, मैले नोट गरेको छु, निर्देशनालयको छलफलमा राख्छु।’ उनले भने।