खोपडीभित्र रहेको लगभग डेढ किलोको ब्रेन (मस्तिष्क) मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो। ब्रेनद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ। मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही ब्रेन नै हो। ब्रेन मेमोरी बैंक पनिहो। मेमोरी लगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य सञ्चालक पनि यही ब्रेन हो। वास्तवमा ब्रेन बोडीको बोस हो। त्यसैले मानव जीवनमा खोपडी भित्र रहेको यस ब्रेनको ठूलो महत्व छ।
तर धेरैलाई अचम्म लाग्न सक्ने कुरा के भने मानव शरीरमा अर्को पनि ब्रेन छ, पेटमा। जसलाई सेकेण्ड ब्रेन भन्ने गरिन्छ। लगभग १० करोड स्नायुकोषहरुले बनेको यो सानो सेकेण्ड ब्रेन (इन्टेरिक नर्भस सिस्टम, छोटकरीमा ईएनएस) निकै स्मार्ट र इन्टेलिजेन्ट छ।
यो ब्रेन पाचन प्रणालीको नियमन तथा नियन्त्रण गर्न उत्तरदायी हुन्छ। यही सेकेण्ड ब्रेनले नै भोक तथा तिर्खा लागेको तथा अघाएको सूचना बिग ब्रेनकहाँ पठाउने गर्छ। वास्तवमा सेकेण्ड ब्रेन र बिग ब्रेनले दोहोरो ट्राफिकका रुपमा कार्य गर्छन्। त्यसैले पेटमा कुनै समस्या पैदा भएको खण्डमा मस्तिष्क अनि पूरा शरीर नै प्रभावित हुन्छ।
सेकेण्ड ब्रेनले ३० भन्दा बढी स्नायु रसायनहरु प्रयोग गर्छ। ९५ प्रतिशत सेरोटोनिनत सेकेण्ड ब्रेनमा नै हुने गर्छ। स्नायुकोषका साथै सेकेण्ड ब्रेनमा १०० अरब भन्दा बढी ब्याक्टेरियाहरुले घर बनाएर बसेका हुन्छन्। जसले मानिस जन्मेदेखि नै हरेक क्षण मानिसको व्यवहारमा प्रभाव पार्छन्। पाचनप्रणाली केवल शरीरिक स्वास्थ्यका लागि महत्वपूर्ण नभएर मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले पेट ठीक छ भने मूड पनि ठीक हुन्छ। वास्तवमा मानसिक स्वास्थ्यमा पेटले महत्वपूर्ण भमिका निभाउँछ।
यसबाट के प्रष्ट छ हुन्छ कि मानसिक रोग केवल मनमस्तिष्कसँग मात्र सम्बन्धित हुँदैन, पेटसँग पनि सम्बन्धित हुन्छ। त्यसैगरी मनमस्तिष्कमा पैदा हुने बिचार तथा भावनाले पेटमा प्रभाव गर्छ। अधिकांश पेटका रोगहरु जस्तैः अपच, अम्लपित्त तथा ग्यास्ट्राइटिस आदि तनाब, चिन्ता तथा डिप्रेसन आदिका कारण पैदा हुन्छ।
बढी मानसिक चिन्ता, तनाव, उद्धेग, तथा शोक आदि जस्ता मानसिक विकारहरुले एसिडिटी जस्ता पेटका रोगहरु बढाउन सहयोग गर्छ। ईष्या, द्वेष, क्रोध, तनाव, व्यग्रता, अनावश्यक र अतिचिन्ता, यस्ता मनोविकारहरु हुन्, जसले पाचनप्र्रणालीलाई प्रभावित पारेर आमाशय स्थित ग्यास्ट्रिक ग्लैन्डलाई बढी उत्तेजित बनाइ बढी एसिड पैदा गर्न सहयोग गर्छ। अर्को कुरा मानसिक कारणले नभइ गलत आहार बिहारका कारण पेटको समस्या देखा परेको छ भने पनि त्यसले मानसिक समस्याहरु जस्तै बैचनी, चिन्तातथा चिडचिडापन पैदा गर्न सक्दछ।
स्वस्थ सेकेण्ड ब्रेन
मानिसको स्वास्थ्यमा सेकेण्ड ब्रेनको महत्वपूर्ण भूमिका रहन्छ। सेकेण्ड ब्रेन स्वस्थ छ भने पाचनप्रणाली स्वस्थ रहन्छ। पाचनप्रणाली स्वस्थ भएको खण्डमा पूरा शरीर नै स्वस्थ रहन्छ। सेकेण्ड ब्रेनलाई स्वस्थ र मजबुत बनाउन उचित आहारबिहारको आवश्यक पर्छ। खाली पेट चिया कफी पिउनाले धेरै मानिसहरुलाई पेटको समस्या देखा पर्छ। त्यसैले बिहान उठ्ने बित्तिकै खाली पेट चिया होइन कि एक दुई गिलास पानी पिउनुपर्छ। पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पदार्थ हो। त्यसैले दिनभरिमा २ लिटर पानी पिउने बानी बसाल्नुपर्छ। नरिवल पानी तथा एलोबेरा (घृतकुमारी) को जुस पनि एसिडिटी जस्ता पेटका लागि निकै उत्तम मानिन्छ। पेटको समस्याबाट छुटकारा पाउन चिया कफी छोडनुपर्छ। जानकारीका लागि यहाँ सेकेण्ड ब्रेनका लागि सेवन गर्न नहुने (अपथ्य) र सेवनगर्न हुने (पथ्य) पदार्थहरु उल्लेख गरिएको छ।
अपथ्य (सेवन अयोग्य)
वेसन तथ मैदाका परिकार, कचौडी पकौडी, जेरीपुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चिया कफी, कोल्डड्रिङ्क्स, मासको दाल, चना, अरहरको दाल, गरम मसला, बैगुन, आलुगोपी, अमिलोपिरो, अचार, बढी चिल्लो, पिरो र मसालेदार परिकार, दही, धूमपान, मद्यपान, निकै तातो र बासीपदार्थ, बढी खाना। बेठीक समयको खाना। हतार हतारमा राम्रोसँग नचपाइकन खाना खाने, खानासँग पानी खाने बानी। जंकफुड। फास्टफुड। मानसिक तनाव, क्रोध तथा शोक। आलस्य। अनावश्यक कामको बोझ। सामाजिक निस्क्रियता।
पथ्य (सेवन योग्यपदार्थ):
चोक्करयुक्त आटाको रोटी, रेसादार, पत्तावाला तथा हरियो सागसब्जी, लौका, परवल, फर्सी, काँक्रो, चौलाइ, पालुंगो, अकुंरित अन्न, दलिया, खिचडी, अनार, किसमिस, मुनक्का, मुँगको दाल, गुलियो तथा चिसो पदार्थ, पेठा, अमला तथा स्याउको मुरब्बा। शुद्ध र ताजा भोजन। ठीक समयको खाना। आरामले खानालाई राम्रोसँग चबाएर खाने बानी। विश्राम। सकारात्मक सोच। प्रेमपूर्ण जीवन। बिहानको हिँडाइ। योग, ध्यान तथा व्यायाम। खेलकूद। सामाजिक सक्रियता।
प्राकृतिक चिकित्सा र योगः
सेकेण्ड ब्रेनलाई स्वस्थ राख्न प्राकृतिक चिकित्सा तथा योग आसनहरुको महत्वपूर्ण भूमिका रहन्छ। प्राकृतिक चिकित्सामा पेटका लागि कुन्जर क्रिया अति नै महत्वपूर्ण मानिन्छ। कुन्जर क्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थहरु बाहिर फयाँक्न सहयोग गर्छ। यसैगरी कपालभाँती प्राणायाम तथा बज्रासन, पवनमुक्तासन तथा भुजांगासन जस्ता आसनहरु सेकेण्डको स्वास्थ्यमा निकै लाभकारी मानिन्छन्। त्यसैले कुन्जरक्रियाद्वारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारबिहार पालना गर्ने हो भने सेकेण्ड ब्रेन स्वस्थ रहन्छ, जसले गर्दा प्रचानप्रणालीका समस्याहरुबाट मात्र होइन मानसिक समस्याहरुबाट समेत मुक्ति मिल्न सक्दछ।
उपचारमा मनोविज्ञानः
मानिसमा लाग्ने रोगहरु साधारणतया दुई किसिमका छन्, एक शारीरिक रोग र अर्को मानसिक रोग। तर रोग लागेका अधिकांश मानिसहरु जतिसुकै राम्रा औषधि सेवन गर्दा पनि रोगबाट पूर्णरुपमा छुटकारा प्राप्त गर्न सकिरहेका हुँदैनन्। औषधि सेवन गर्दासम्म उनीहरुलाई लाभ हुन्छ, अनि फेरि जस्ताको तस्तै। यसको मूलकारण रोगको मनोवैज्ञानिक पक्षलाई नजरअन्दाज गर्नु हो।
पेटका रोग बढाउनमा मनोवैज्ञानिक कारणको निकै ठूलो भूमिका रहन्छ। त्यो किनभने पेटको समस्या केवल पेटसँग मात्र सम्बन्धित नभएर मनमस्तिष्कसँग पनि सम्बन्धित हन्छ। जस्तो कि एसिडिटी मानसिक चिन्ता र तनावले पनि पैदा हुन्छ। ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नर्गनाले पनि उत्पन्न हुन्छ। यहाँ हेक्का राख्नु पर्ने कुरा के हो भने ठीक समयमा पथ्यभोजन नगर्ने, व्यायाम आदि गर्न आलस्य गर्ने कुरा सिधै मनमस्तिष्कसँग सम्बन्धित हुन्छ। त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरिकन पेटका रोगहरुबाट छुटकारा प्राप्त गर्न सकिँदैन। त्यसै गरी कतिपय मानिसहरु औषधि खाँदाखाँदा पनि मानसिक रोगहरुबाट ठीक भएका हुँदैनन्, यसको कारण सेकेण्ड ब्रेन हुन सक्दछ। त्यसैले चिकित्सकले रोगको उचार गर्दा मन र शरीरलाई ध्यान दिनुपर्छ। बिग ब्रेन र सेकेण्ड ब्रेन दुबैलाई ख्याल गर्नु पर्छ। वास्तवमा उपचार होलिस्टिक हुनुपर्छ।
अन्तमाः
अतः सेकेण्ड ब्रेन स्वस्थ भए पाचन प्रणाली स्वस्थ रहन्छ। तब खाएपिएको पदार्थ राम्रोसँग पच्छ, शरीरमा लाग्छ, मानिस शारीरिक रुपमा मात्र होइन सम्पूर्ण रुपमा स्वस्थ हुन्छ। त्यसैले सेकेण्ड ब्रेनको महत्वलाई बुझौं र स्वस्थ जीवन बाँचौं।
(लेखक मनोविद् हुन्)