भैरहवा- भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा सर्तकता अपनाउन लागिएको छ। भारतमा एकैदिन हजारौँ संख्यामा सङ्क्रमित थपिएसँगै बेलहिया सहितका सिमानाकामा निगरानी बढाउन लागिएको हो।
भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ। रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सिमा क्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ। संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले वेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ।
स्वास्थ्य कार्यालयकै पहलमा सिमा क्षेत्रमा २ वटा टेन्ट निर्माण भइरहेको छ। सिद्धार्थनगर नगरपालिकासँगको सहकार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामाग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।
भारतबाट नेपाल आउने शंकास्पद विरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परिक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए। ‘भारतमा संक्रमण बढेसँगै सक्रिय रुपमा हेल्थ डेस्कबाट जाच बढाउन लागेका छौ । पोजिटिभ देखिएमा अइशोलेटेडका लागि क्वारेन्टाइनमा राखिने छ।’ उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेको छ। विज्ञप्तिमा सामाजिक÷भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ।
भारतको कतिपय ठाउमा फेरी लकडाउन भएकोले त्यहाँ रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन्। भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ। महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेश लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो छ।
नेपाल आउने यात्रुहरुका लागी भने अहिले कुनै सावधानी अपनाईएको छैन। सीमामा नेपाल तर्फबाट निर्वाध रुपमा किनमेलका लागि आवतजावत भइरहेको छ, स्वास्थ्य चेकजाँचका लागि बनाइएको डेस्कमा अहिलेसम्म प्रहरीले भारतबाट आउनेहरुकोे तथ्याङक मात्र लिने गरेको छ।