गुल्मी- जिल्लाका १२ वटा स्थानीय तहमा दुई चरणमा कोरोना विरुद्धको खोप लगाइने भएको छ। जिल्लामा माग अनुसार खोप नआएकोले पहिलो चरणमा ८ र दोस्रो चरणमा ४ स्थानीय तहमा खोप लगाइने छ। पहिलो चरणमा जिल्लाका सत्यवती, कालिगण्डकी, चन्द्रकोट, मुसिकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाउने योजना रहेको स्वास्थ कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए। त्यस्तै रेसुङा नगरपालिका, गुल्मी दरवार गाउँपालिका, छत्रकोट र रुरु क्षेत्र गाउँपालिकामा दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए।
गुल्मीमा ६५ बर्ष माथिका १८ हजार ८ सय ८३ जना जेष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउँदैछन्। गुल्मीमा आइतबारबाट ६५ वर्षका माथीका व्यक्तिहरुलाई दोस्रो चरणको खोप अभियान शुरु हुदैछ। खोप अभियानको लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए। अहिले स्थानीय तहका स्वास्थ्य संस्था मार्फत खोप संचालन हुने भएकाले सवैलाई समन्वयको लागि आग्रह गरे।
जिल्लाका १२ वटा स्थानीय तहका ९३ वटा वडामा रहेका स्वास्थ्य चौकी मार्फत खोप प्रदान गरिने छ। यस अघि गुल्मी अस्पतालबाट मात्रै खोप प्रदान गरिएको थियो। अहिले ११ हजार ८ सय ५० डोज कोरोनाविरुद्धको खोप आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। अहिले अघिल्लो चरणमा छुट भएकाहरूले पनि खोप लगाउन पाउनेछन।
स्वास्थ्य कार्यालय गुल्मीका भ्याक्टर कन्ट्रोल अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार चन्द्रकोट गाउँपालिकामा १४ सय ४, धुर्कोटमा १६ सय ३७, इस्मा गाउँपालिकामा १४ सय २५, कालिगण्डकी गाउँपालिकामा १४ सय ४८, मदाने गाउँपालिकामा १२ सय ७०, मालिका गाउँपालिकामा १३ सय ६०, सत्यवति गाउँपालिकामा १८ सय ३३ र मुसिकोट नगरपालिकामा २ हजार ५४ गरेर पहिलो चरणमा १२ हजार ४ सय ३१ जनाले कोरोना बिरुद्धको खोप लगाउँदै छन्।
त्यस्तै दोस्रो चरणमा छत्रकोट गाउँपालिकामा १५ सय ५८, गुल्मी दरवार गाउँपालिकामा १५ सय ७, रुरु क्षेत्र गाउँपालिकामा १४ सय ८२ र रेसुंगा नगरपालिकामा १९ सय ५ जना जेष्ठ नागरिकलाई खोप प्रदान गरिने भट्टराईले जानकारी दिए।
प्रत्येक स्थानीय तहका स्वास्थ्य संस्थामा स्वास्थ्य व्यावस्थापनको लागि डाक्टरहरुको व्यावस्था गरिएको छ। कोरोना बिरुद्धको खोप अभियान अन्तरगत पहिलो चरणमा ९२.७ र दोस्रो चरणमा ९४.५ प्रतिशतले खोप लगाएका थिए। प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले अबको अभियानमा सत–प्रतिशतलाई खोप लगाउन सवैको प्रयत्न आवश्यक रहेको बताइन्। अहिले गाउँगाउँमा खोप अभियान संचालन भएकाले नागरिकमा खोपप्रति देखिएको भम्रको अन्त्य गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।