मदिरा अर्थात् रक्सी प्राचिन कालदेखि नै कुनै न कुनै रुपमा प्रयोग हुँदै आएको छ । पेनकिलरको उत्पादन हुनु भन्दा पहिला मदिरालाई दुःखाइ कम गर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । तर हिजोआज मदिरा नशाको लागि सेवन गरिन्छ ।
मदिरा(अल्कोहल) यस्तो लागुपदार्थ हो, जसले मानिसलाई यसरी मोहनी लगाउँछ कि यसको लतको खाल्टोमा परेपछि त्यहाँबाट निस्कन निकै गाह्रो हुन्छ । मदिराकै करण मानिसको जीवन निकै कष्टकर हुन्छ, मदिराप्रतिको निर्भरता नहटेको खण्डमा अल्पायुमै जीवन समाप्त हुन्छ ।
मदिरा (रक्सी) के होः
रक्सी एक किसिमको नशालु पेय पदार्थ हो जसमा इथिनोल हुन्छ । सामान्यतया रक्सीलाई अल्कोहलको प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छः बियर, वाइन तथा स्प्रिट ।
बियरलाई पनि अल्कोहलक प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छः साधारण बियर(३ प्रतिशत अल्कोहल), कडा बियर (५.५ प्रतिशत अल्कोहल) तथा अत्याधिक कडा बियर (७ प्रतिशत अल्कोहल) ।
त्यसैगरी वाइन पनि दुई प्रकारको हुन्छ, टेबुल वाइन (८ देखि १० प्रतिशत अल्कोहल), फोर्टिफाइड वाइन (१३ देखि १६ प्रतिशत अल्कोहल) । स्प्रिट, यस अन्तरगत रम, ह्वीस्की, जीन, भोड्का तथा ब्रान्डी आदि पर्छन् । यसमा अल्कोहलको मात्र ४० देखि ४५ प्रतिशत हुन्छ ।
अधिकांश मदिरा सेवनकर्ताहरु मदिराको सेवनले गर्ने असर वारे अनभिज्ञ छन् । तर स्वास्थ्य पत्रिका ल्यान्सेटमा प्रकाशित एक शोधका अनुसार स्वास्थ्यका लागि रक्सी होरोइन भन्दा पनि हानिकारक हुन्छ । मद्यपान मुत्युका प्रमुख आठ कारण मध्य एक हो ।
शोधमा संलग्न शोधकर्ता प्रो. डेभिट नट भन्छन्ः ‘रक्सी सबैभन्दा हानिकारक नशा हो किनभने समाजमा यसको प्रयोग व्यापकरुपमा हुने गर्छ ।’ शोधमा मादकपदार्थ सेवनवाट हुने शारीरिक तथा मानसिक हानी, लत, अपराध, हिंसा, अर्थव्यावस्था र समाजमा पर्न सक्ने असरका आधार हरेक किसिमका लागुपदार्थलाई अंकभार दिएर सुचिबद्ध गरिएको छ, जसमा मदिरापछि होरोइन र त्यसपछि कोकिनलाई खतरनाक नशालु पदार्थ मानिएको छ ।
शरीरमा प्रभावः
गिलास वा बोत्तलको रक्सी मुखमा लगाएपछि सोझै पेटमा पुग्छ । पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र शरीरका सबै अंगप्रत्यंगमा पुग्छ । रगतमा अल्कोहलको मात्रा जति जति बढ्दै जान्छ, त्यति त्यति नै यसले दिमाग र स्नायुप्रणालीलाई नकारात्मक प्रभाव पार्दैै जान्छ ।
रक्सीले सबैभन्दा पहिला असर पार्ने अंग दिमाग हो र त्यसपछि मुटु र कलेजो हुन् । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नु पर्ने हुन्छ । लगातार काम गरिरहनु पर्नाले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै जान्छ अनि लिभर सिरोसिस तथा लिभर फेलिएर हुन पुग्छ ।
स्वास्थ्य समस्याः
रक्सी सेवन गर्नाले अनेक प्रकारका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् । जस्तैः इनटक्सिकेसनको समस्या । यदि रगतमा ४०० मिलिग्राम प्रतिशत भन्दा बढी अल्कोहलको मात्रा छ भने मानिसको मृत्यु हुन सक्छ । पेटका रोगहरु गैसट्राइटिस, पेप्टिक अल्सर तथा पैंक्रियाटाइटिस । उच्च रक्त चाप । कारडियक मायापैथी तथा मस्तिष्कघात । फोक्सो तथा मुटुका रोगहरु । नभएको बस्तु देख्ने । कानमा आबाज आउने । चिन्ता रोग तथा डिप्रेसन ।
८० प्रतिशत रक्सी दुर्व्यसनीमा डिप्रेसन देखा पर्छ । लिंग उत्तेजनामा कमी तथा शीघ्रपतन जस्ता यौन समस्या । रक्सी सेवन गर्ने महिलाको बच्चामा शारीरिक तथा मानसिक समस्या देखिन्छ ।
रक्सीका कारण शरीरमा भिटामिन बी, ए, डी, इ, तथा फोलेट आदिको कमी हुन जान्छ र यस्ता भिटामिनहरुको कमीले गर्दा समस्याहरु देखिन्छ । फेरिफेरता न्युरोपैथी । कोर्साकोफ्स साइकोसिस । अल्कोहोलिक इन्फालोपैथी । अल्कोहलिक हेपाटाइटिस, लिभर सिरोसिस तथा क्यान्सर ।
मदिरा र कलेजोः
नेपाल लगायत विश्वका धेरै देशहरुमा कलेजोको रोग, लिभर सिरोसिस हुनुको प्रमुख कारण पनि अनियन्त्रित रक्सी सेवन नै हो । नियमित रक्सी पिउनाले कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा बोसो जमेसँगै कलेजो सुन्निदै जान्छ ।
यस अवस्थामा जण्डिस देखा पर्न सक्दछ । यसलाई अल्कोहोलिक हेपाटाइटिस भनिन्छ । अल्कोहोलिक हेपाटाइटिस भई बिरामी बाँचेको खण्डमा र रक्सी सेवन गरिरहेको खण्डमा लिभर सिरोसिस हुन्छ ।
लिभर सिरोसिस हुने अर्को कारण भाइरल हेपाटाइटिस पनि हो । यसको अलवा अटोइम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस तथा विलसन डिजिज आदिले पनि लिभर सिरोसिस बनाउँछ ।
रक्सी सेवन नगर्ने, तर बढी बोसोजन्य पदार्थ सेवन गर्ने तथा व्यायाम आदि शारीरिक कार्यहरु नगर्नाले पनि कलेजोमा बोसो जम्न सक्दछ । कलेजोमा यसरी बोसो जम्ने समस्यालाई फ्याटी लिभर भनिन्छ ।
साधारणतया लिभरमा बासो हुँदैन । जब बोसो जम्न थाल्छ, कलेजो सुन्निदै जान्छ र कलेजोका कोषहरु मर्दै जान्छन् । अनि लिभर मास्टियाटो हेपाटाइटिस रोग पैदा हुन्छ । यसको उचित उपचार नगर्ने हो भने लिभर सिरोसिस तथा लिभर क्यान्सर समेत हुन सक्दछ ।
मदिरा र मस्तिष्कः
हार्वड विश्वविद्यालयकी चर्चित स्नायुवैज्ञानिक डा. म्यारि प्यासिन्स्कीका अनुसार मदिराले मानिसको मस्तिष्कमा चौतर्फी प्रभाव पादर्छ । मस्तिष्कलाई असर गर्न थालेपछि मस्तिष्कको कुनै भाग सुक्छ, कुनै भाग फुक्छ र मस्तिष्कको बनावट नै बदलिन्छ ।
यस्तो समस्यालाई अल्कोहोलिक इन्फालोपैथी भनिन्छ । यस्तो अवस्थामा मानिसको स्मरणशक्ति नष्ट हुने, सोच्न नसक्ने, पागलपन जस्तै हुने गर्छ । मदिराको सेवनबाट पैदा हुने यस्तो गम्भिर रोगलाई कोर्साकोफ्स साइकोसिस भनिन्छ । यस्तो अवस्थामा छारेरोगको लक्षण पनि देखा पर्न सक्दछ ।’
मदिरा दुर्व्यसनमा मदिरा खान बन्द गर्दा अनेक विथड्रल लक्षणहरु देखा पर्छन् । शुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने तथा चिडचिडापन हुन सक्दछ । गम्भिर अवस्थामा नभएको कुरा देख्ने, सुन्ने, उत्तेजित र अक्रामक हुने, बरबराउने तथा छारे रोगका रोगीझैं मुर्छा पर्ने हुन्छ ।
यहाँ उल्लेखनीय कुरा के भने मदिराप्रति निर्भरता हुनु नै एक मानसिक रोग हो । यसको अलवा अनियन्त्रि मदिरा सेवनले अनेक किसिमका मानसिक समस्याहरु उत्पन्न गर्न सक्दछ ।
जस्तैः दुश्चिन्ता, डिप्रेसन तथा साइकोसिस । व्यक्ति मानसिक रोगबाट पीडित भएको खण्डमा पनि मदिराको शरणमा पुग्न सक्दछ । विशेषगरी न्युरोसि र डिप्रेसनका विरामीहरु मदिराको कुलतमा फस्ने संभावना हुन्छ । यसरी मानसिक रोगमाथि मदिराको लत थपिएपछि मानसिक रोग जटिल बन्दछ, मदिराको दुर्व्यसन अटुट हुन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमका अनुसार सामान्यतया मदिरा स्वस्थ मुटुका लागि हानिकारक हुन्छ । तर, ठिक मात्रामा रक्सी सेवन गर्नाले मुटुलाई केही फाइदा पनि गर्न सक्दछ कतिपय अध्ययनहरुले देखाएको छ । जस्तो कि रगतमा राम्रो कोलोस्ट्राललाई बढाउँछ, जसले गर्दा हृदयघात हुने संभावना कम हुन्छ । रगत जम्ने प्रवृत्ति कम गर्छ । जसका कारण हृदयघात, एन्जाइना आदिलाई घटाउँछ । ठिक मात्रा भन्नाले दैनिक एक बोतल बियर अथवा २५० एमएल वाइन अथवा ६० एमएल हार्डड्रिंसलाई जनाउँछ, यो मात्रा ३० देखि ६५ वर्षसम्मका पुरुषहरुका लागि हो । महिला तथा ६५ वर्ष नाघेका पुरुषहरुका हकमा भने यसको आधा ठिक मात्रा हो । तर अनियन्त्रित रुपमा अध्याधिक रक्सी सेवन गर्नाले तथा रक्सी सेवन गर्न नहुनेले सेवन गर्नाले रक्सीबाट मुटुलाई निकै बेफाइदा पुग्न सक्दछ । रक्तचाप बढ्ने, मतिष्कघात, मुटु सुन्निने, मुटुको धडकनमा गडबडी उत्पन्न हुने र मुटुले राम्रोसँग पम्प गर्न नसक्ने अवस्था पैदा हुन सक्दछ । यदि गर्भवती महिलाले रक्सी सेवन गरेको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्दछ । अतः गर्भवती महिलाले, कलेजोको रोग, मधुमेह, उच्च रक्तचाप, ट्राईग्लाइसेराइड, बाथ मुटुको रोग, मुटु सुन्निने रोग, जन्मजात मुटुको रोग, मुटुको धडकन गडबडी, युरिक एसिड, अल्सर तथा मिर्गौलाका रोगीहरुले रक्सी पिउनु अत्यन्तै हानिकारक हुन्छ । त्यसैले रक्सी नपिउनु नै राम्रो हुन्छ ।
मदिरा र मुटु रोगः
वरिष्ट मुटुरोग विशेषज्ञ डा. समिर गौतमका अनुसार सामान्यतया मदिरा स्वस्थ मुटुका लागि हानीकारक हुन्छ । तर, ठिक मात्रामा रक्सी सेवन गर्नाले मुटुलाई केही फाइदा पनि गर्न सक्दछ भन्ने कतिपय अध्ययनहरुले देखाएको छ । जस्तो कि रगतमा राम्रो कोलोस्ट्राललाई बढाउँछ, जसले गर्दा हृदयघात हुने संभावना कम हुन्छ ।
रगत जम्ने प्रवृत्ति कम गर्छ । जसका कारण हृदयघात, एन्जाइना आदिलाई घटाउँछ । ठिक मात्रा भन्नाले दैनिक एक बोतल बियर अथवा २५० एमएल वाइन अथवा ६० एमएल हार्डड्रिंसलाई जनाउँछ, यो मात्रा ३० देखि ६५ वर्षसम्मका पुरुषहरुका लागि हो । महिला तथा ६५ वर्ष नाघेका पुरुषहरुका हकमा भने यसको आधा ठिक मात्रा हो ।
तर अनियन्त्रित रुपमा अध्याधिक रक्सी सेवन गर्नाले तथा रक्सी सेवन गर्न नहुनेले सेवन गर्नाले रक्सीबाट मुटुलाई निकै बेफाइदा पुग्न सक्दछ । रक्तचाप बढ्ने, मतिष्कघात, मुटु सुन्निने, मुटुको धडकनमा गडबडी उत्पन्न हुने र मुटुले राम्रोसँग पम्प गर्न नसक्ने अवस्था पैदा हुन सक्दछ ।
यदि गर्भवती महिलाले रक्सी सेवन गरेको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्दछ । अतः गर्भवती महिलाले, कलेजोको रोग, मधुमेह, उच्च रक्तचाप, ट्राईग्लाइसेराइड, बाथ मुटुको रोग, मुटु सुन्निने रोग, जन्मजात मुटुको रोग, मुटुको धडकन गडबडी, युरिक एसिड, अल्सर तथा मिर्गौलाका रोगीहरुले रक्सी पिउनु अत्यन्तै हानीकारक हुन्छ । त्यसैले रक्सी नपिउनु नै राम्रो हुन्छ ।
सामाजिक समस्याः
रक्सी सेवन गर्नाले अनेक समाजिक समस्याहरु निम्ताउँछ । रक्सीका कारण घरपरिवार तथा छरछिमेकमा झैझगडा, घरेलुहिंसा तथा पतिपत्नीका बीचमा पारपाचुके समेत हुन सक्दछ ।
मदिराको मोहनीमा फसेको व्यक्ति समाजमा जँडयाहाको उपनामले अपहेलित हुन्छ र घर नर्क जस्तै बन्छ । बाबु जँडयाहा भएको खण्डमा छोराछोरीको पढाइलेखाइ तथा घरगृहस्थीमा समेत नकारात्मक असर पर्छ । यस्तो घरमा छोरी लिन र दिन समेत मानिसहरु हिच्किचाउँछन् ।
मदिराका कारण समाजमा बेरोजगारी, आपराधिक क्रियाकलाप तथा दुर्घटनाहरु बढ्छन । नेपालमा सवारी दुर्घटनाको एक प्रमुख कारण मद्यपान पनि हो ।
आर्थिक समस्याः
रक्सीले निम्ताउने अर्को समस्या भनेको आर्थिक समस्या हो । यदि परिवारमा घरको मुली नै मदिराको मोहनीमा फसेको छ भने त्यो घर आर्थिकरुपमा जर्जर हुन्छ ।
एकातिर रक्सी खरीद गर्नाका लागि पैसा आवश्यक हुन्छ भने रक्सीका कारण देखा पर्ने स्वास्थ्य समस्याहरुको उपचारका लागि पनि पैसा चाहिन्छ । घरमुलीको दैनिकी नै मदिरा पिउनुमा नै बितेपछि अरु कुरा परै छोडौ, हातमुख जोड्न पनि परिवारलाई धौधौ हुन्छ ।
उपचारः
मदिरा निर्भरता एक मानसिक रोग भएकाले यसको उपचार आवश्यक छ । मानिसलाई मदिराको मोहनीबाट मुक्त गर्न गाह्रो भएपनि असम्भव चाही छैन । मदिराबाट मुक्तीका लागि सन् १९३५ मा अमेरिकामा स्थापित ए.ए. (अल्कोहोलिक एनोनिमस)को १२ सुत्रिय कार्यक्रमको निकै प्रभावकारी छ । तर यो कार्यक्रम सबैका लागि उपयुक्त नहुन सक्दछ ।
औषधिका साथै मनोवैज्ञानिक उपचारद्धारा नै यस रोगबाट मुक्त हुन सकिन्छ । पुनर्वास कार्यक्रममा व्यावसायिक प्रशिक्षणको पनि महत्वपुर्ण भुमिका रहन्छ ।
हिजोआज मदिरा दुर्व्यसनीको उपचार र पुनस्र्थापनाका लागि विभिन्न उपचार पद्धतिहरु अपनाइएको पाइन्छ । प्रमुख उपचार पद्धतिहरु यस प्रकार छन् । जस्तैः औषधिद्वारा उपचार । मनोवैज्ञानिक उपचार जस्तैः व्यावहारिक चिकित्साः यसमा बाचचित, परामर्श, रिलेक्सेसन, एक्सरसाइज, डिएैन्जीटाइजेसन, ऐवर्जन थेरापी, ग्रुप थेरापी आदि । कग्निटिभ बिहाभियर थेरापी ।
वैकल्पिक उपचार । मदिरा दुर्व्यसनीको उपचार र पुनस्र्थापनाका लागि औषधि भन्दा पनि मनोशैक्षिक उपचार बढी प्रभावकारी हुन्छ ।
पुछारमाः
मदिरा एक खतरनाक लागुपदार्थ(ड्रग्स) हो र यसको सेवनले कुनै फाइदा हुँदैन, हानी नै हानी हुन्छ । मदिराले घरपरिवारको सत्यनाश बनाउँछ । समाजमा अपहेलित बनाउँछ । त्यसैले यो या त्यो कारणले मदिरा सेवन नगर्नु नै वेश हुन्छ । यदि कुनै कारणवश मदिराको मोहनीमा फसिएको छ भने यसले गर्ने चौतर्फी असरलाई मध्यनजर गर्दै तुरुन्तै यसको उपचारमा लाग्नु वेश हुन्छ । मदिराले मक्किएको शरीर मदिराको मोहनीबाट मुक्त भएपछि पुनः समान्य हुन सक्दछ ।
केही समय यता नेपालका प्रमुख शहरहरूमा मात्र होइन कि टोल–टोलमा समेत थुप्रै लागुऔषध–दुव्र्यसन पुनर्वास केन्द्रहरू (सुधार केन्द्र) खुलेका छन् । तर यस्ता अधिकांश केन्द्रहरू अदक्ष मानिसहरूद्वारा संचालित छन् । अधिकांश यस्ता केन्द्रहरूको उद्देश्य जसरी हुन्छ पैसा धुत्ने हो ।
त्यसैले यस्ता तथाकथित केन्द्रहरूप्रति उपभोक्ता सचेत हुन अत्ति आवश्यक छ । नत्र ‘पैसा जति धाँमीलाई, बेथा जति हामीलाई उखान चरितार्थ हुन सक्छ । यसकुरामा राम्रो जानकारी प्राप्त गरेर मात्र मदिराको मोहनीमा फसेका आफन्तहरूलाई उपचार र पुनर्वास प्रोग्रामका लागि पठाउनुपर्छ ।
(लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)