गुल्मी । गुल्मीमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले अभियानको सुरुवात गरिन् । जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय गुल्मीका उपनिर्देशक डाक्टर भवानी शर्माले लगाए ।
पहिले माघ १७ गतेबाट जिल्लामा खोप अभियान संचालन गर्ने कार्ययोजना थियो । तर, पछिल्लो निर्देशन अनुसार खोप लगाउन सुरु गरिएको उपनिर्देशक डाक्टर शर्माले जानकारी दिए ।
खोप अभियानको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्य सुरक्षाका सवै मापदण्ड अलम्बन गर्न आग्रह गरिन् । गुल्मीका लागि ४ सय १८ भायल कोरोना खोप आएको छ । जसबाट साढे १९ सय जनाले दुवै डोज लगाउन मिल्ने स्वास्थ्य कार्यालयका सूचना अधिकार पशुपति आचार्यले जानकारी दिए ।
प्रत्येक स्थानीय तहले पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको तथ्यांक संकलन गरिसकेका छन् । अहिले खोप लगाउन आवश्यक मध्ये ५० प्रतिशतलाई मात्र अभियानमा सहभागी गराउने निर्णय कोभिड–१९ समन्वय तथा अनुगमन समितिले गरिसकेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार माघ १५ गते स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले खोप लगाउने छन् । माघ १६ र १७ गते रेसुंगा नगरपालिका, गुल्मी दरवार, छत्रकोट, रुरु क्षेत्र र धुर्कोट गाउँपालिकाका ५ सय १२ जनाले खोप लगाउने छन् । त्यस्तै माघ १८ र १९ गते कालिगण्डकी, सत्यवति, चन्द्रकोट, मालिका, मदाने गाउँपालिका र मुसिकोट नगरपालिकाका ४ सय ६८, माघ २० र २१ गते रेसुंगा, गुल्मी दरवार, छत्रकोट, धुर्कोट र मदानेका ४ सय ८०, माघ २२ र २३ गते कालिगण्डकी, चन्द्रकोट, सत्यवति, इस्मा र मालिका गाउँपालिका तथा मुसिकोट नगरपालिकाका ५ सय १६ जनाले खोप लगाउने छन् । जिल्लाभरबाट छुटफुट भएकाहरुलाई माघ २४ गते खोप लगाउने कार्ययोजना कोभिड–१९ समन्वय तथा अनुगमन समितिले योजना बनाएको छ । पहिलो चरणका सवैले गुल्मी अस्पताल तम्घास आएर खोप लगाउनुपर्नेछ ।