बुटवल- बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतलको आइसियु कक्ष खाली गराइएको छ। अबको ३ दिनसम्म आइसियुमा कुनै विरामी नराखिने अस्पतालका कन्सल्टेन्ट डा.सुदर्शन थापाले जानकारी दिए। आइसियु कक्षलाई फ्युमिगेसन (निर्मलीकरण) गर्नको लागि खाली गराइएको हाे। फ्युमिगेसनको काम हुने भएकाले आइसियुमा आएका विरामीलाई भैरहवाको भिम अस्पतालमा रिफर गरिने छ।
कोरोना अस्पताल स्थापना भएदेखी पहिलो पटक फ्युमिगेसन गर्न लागिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटण्ड डा. राजेन्द्र खनालले बताए। ‘अरु व्यक्ट्रियल इन्फेक्सनको असर कम होस भनेर फ्युमिगेसन गर्न लागिएको हो।’ उनले भने ‘विरामीको चाँप हुँदा खाली गराउन सम्भव थिएन। अहिले केश कम आएको बेला पहिलो पटक निर्मलीकरण गर्न लागिएको हो।’
पछिल्लो समय अस्पतालको आइसियुमा पनि विरामी कम हुँदै गएका छन्। कोरोना अस्पतालमा १६ वटा आइसियुको बेड रहेको छ। अस्पतालको जनरल आइसोलेसन भने सुचारु हुने छ । जनरल आइसोलेसनमा ३६ वटा बेड रहेकाे छ। अहिले यहाँ १२ जना विरामी छन्। केही विरामी लुम्बिनी प्रादेशिक अस्पतालमा रहेकाे फिबर क्लिनीक आइसोलेसन वार्डमा राखिएकाे छ।