विश्वभर यति बेला कोरोना संक्रमणको स्थिति भयावह छ । कोरोनाको महामारी रोकिने कुनै लक्षण देखिएको छैन । त्यहीमाथि चिसो बढेसँगै जाडो मौसममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ ।
जाडो मौसममा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी नै समस्या हुने गर्छ । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ ।
चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास तथा निमोनियाका बिरामी बढ्ने गर्छन् ।
यति मात्र होइन जाडोयाममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउला, लगायत मुटु कमजोर हुने जस्ता समस्या पनि देखिन्छन् ।
यो बेलामा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छ ।
चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शीतलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने गर्छ । तर केही साधारण कुराहरुमा ध्यान दिन सकियो भने यस्ता धेरै रोगबाट सहजै बच्न सकिन्छ ।
अतःमौसम अनुसार मानिसले आफ्नो आहारबिहारमा ध्यान दिने हो भने निश्चित रुपमा रोगहरुबाट बच्न सकिन्छ, शरीरलाई निरोग र बलवान् राख्न सकिन्छ ।
जाडो मौसमको आहारः
आयुर्वेदका अनुसार जाडो मौसममा जठराग्नि तीव्र हुन्छ, जसले गर्दा पाचनशक्ति प्रवल रहन्छ । अर्थात जाडो मौसममा खाएपिएको आहार राम्रोसँग पाचन हुन्छ ।
त्यसैले जाडो मौसमको सही तथा पूरा सदुपयोग गर्नका लागि पौष्टिक, बलवर्द्धक तथा गुणवर्द्धक पदार्थहरु सेवन गर्नु पर्छ ।
जस्तो कि शुद्ध घिउबाट बनेका पदार्थ, मुंगको दालको हलुवा, मासको खीर, शुद्ध घिउको जेरी र दुःध । मौसमी फलफूल । कागजी बदाम, ओख्खर, किसमिस, छोहोडा, मुंगफली, अमला । सुत्नेबेलामा गोल्डेन मिल्क ।
गोल्डेन मेमोरी मिल्क तयार गर्ने विधि यस प्रकार छः बिहान २–४ वटा बदाम (आलमन्ड) एक कप पानीमा भिजाएर राख्ने । आफ्नो पाचन शक्ति अनुसार बदामको संख्या कमबेसी गर्न सकिन्छ ।
तर ४ वटा बदामभन्दा बढी प्रयोग नगर्ने । अब एक गिलास मनतातो दुधमा बदामको छिल्का हटाएर बनाएको लेप, एकतिहाइ चम्चा बेसार, आधाचम्चा शुद्ध घिउ (गाईको घिउ उत्तम हुन्छ ।) पनि हालेर राम्रोसँग मिलाउने ।
यस दूधमा एक चम्चा मह मिसाउने तथा अलैची र दालचिनीको अलिकति चूर्ण माथिबाट छर्कन सकिन्छ । गोल्डन मेमोरी मिल्क तयार भयो । अब एक चम्चा त्रिफला चूर्ण फाँकेर गोल्डन मेमोरी मिल्क पिउने ।
बिहानको नास्तामा केशर चिया, हर्बल चिया तथा राति भिजाएर राखेको एक मुठी चना, सकिन्छ भने राति नै भिजाएर राखेको १०–१५ दाना किसमिस तथा २–४ वटा जति छोहोडा तथा कागजी बदाम खुबसँग चपाएर खानु राम्रो हुन्छ । स्वादको लागि चनामा अलिकति पिसेको सिँधे नुन, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ । अझ अंकुरित गेडागुडीको भोजन अमृत भोजन, नास्ताको रूपमा सेवन गर्नु सर्वोत्तम हुन्छ ।
अमृत भोजनः
अमृत भोजन भनेको नमरेको भोजन हो । यस्तो भोजनमा भरपुर प्राणशक्ति हुन्छ । त्यसैले यो पौष्टिक तथा बलवद्र्धक हुन्छ । बिहानी नास्ताका लागि अमृत भोजनमा निम्नलिखित अंकुरित गेडागुडीहरूलाई लिन सकिन्छ ।
चनाः १५ ग्राम
गहुः १५ ग्राम
मुँगः १०ग्राम
मुगफलीः १०ग्राम
मेथीः १० ग्राम
तिलः ५ ग्राम
उपयुक्त अंकुरित गेडागुडीमा प्याज, टमाटर, पालकको पत्ता, हरियो धनियाँ, पत्तागोपी, गाजर इत्यादिका स–साना टुक्राहरू काटेर मिसाउन सकिन्छ ।
स्वादको लागि अलिकति पिसेको सिधे नून, अदुवा, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ । र, यो अमृत भोजनलाई खुब राम्रोसँग चपाएर खानु पर्छ । जाडो मौसममा मात्र होइन अन्य मौसममा पनि यो अमृत भोजन सेवन गर्न सकिन्छ ।
जाडो मौसमको बिहारः
जाडो मौसममा आहार अनुसारको बिहार अर्थात रहनसहन बहुतै महत्वपुर्ण हुन्छ । त्यसैले जाडो मौसममा गर्न योग्यबिहार गर्नुपर्छ । यदि गर्न योग्यबिहार नगर्ने तथा गर्न अयोग्यबिहार गर्ने हो भने शरीरलाई हानी गर्छ तथा रोग पैदा हुन्छ ।
जाडो मौसममा शीतबाट बच्ने । शरीरमा तेलमालिस गर्ने । व्यायाम तथा योगासन गर्ने । घाम ताप्ने । बिहान हिँड्ने या दौडिने । न्यानो लुगा लगाउने ।
सुत्दा न्यानो कपडा जस्तै कम्बल, सिरक आदिको प्रयोग गर्ने । तातो पानी खाने । मनतातो पानीले नुहाउने । यि सबै जाडो मौसमका उचित बिहारहरु हुन् ।
जाडो मौसममा मानिसहरुले बिहान नुहाउने अल्छी मान्छन् । तर जस्तोसुकै जाडो भएपनि बिहान नुहाउने अल्छी गर्नु हुँदैन ।
बिहानै सबेरै उठेर नुहाउनाले शरीरमा चुस्तीफुर्ती बढ्छ, शरीर शुद्ध हुन्छ । तोरीको तेल वा तिलको तेलले शरीर मालिस गरेर नुहाउनु सुनमा सुगन्ध छरेझैं हुन्छ ।
धेरै जाडो भएको खण्डमा मनतातो पानीले नुहाउन सकिन्छ । तर, धेरै तातो पानी टाउको तथा आँखामा पर्न दिनु हुँदैन ।
अतः यसरी जाडो मौसमको उचित आहारबिहारको पालना गर्ने हो भने शरीर पुष्ट, सुडौल तथा स्वस्थ हुन्छ, जसले गर्दा गर्मी मौसममा पनि शरीर स्वस्थ रहन्छ ।
मौसमी फ्लु र कोभिड १९
मौसम परिवर्तन सँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजुल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।
मौसमी रुघा खोकीका लक्षणहरुमा नाक बन्द हुने, नाकबाट पानी आउने, हाँच्छ्यु आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, सामान्य उपचार तथा आरामले फाइदा गर्ने तथा छोटो समयमा निको हुने हुन् भने कोरोना संक्रमणका लक्षणहरुमा सुख्खा खोकी लाग्ने, उच्च ज्वरो आउने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने, खाना नरुच्ने, अक्सिजन तथा आइसीयुको उपचार आवश्यक पर्न सक्ने, तथा निको हुन १४ दिन भन्दा बढी लाग्न सक्ने हुन् ।
फ्लुमा बढी नाकमा समस्या हुन्छ भने कोभिड १९ मा घाँटी र छातीमा समस्या देखिन्छ, चर्को ज्वरो आउँछ ।
यी दुवै संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । शरीरको तापक्रम तथा अक्सिजनको लेभल हेरिरहने ।
बढी समस्या भएमा तुरुन्त अस्पतालमा सम्पर्क गर्ने ।
(लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)