चीनले गरेको पहल सफलताको नजिक पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
चीनले बनाएको भ्याक्सिन सिनोभ्याकको तेस्रो चरणको परीक्षण अहिले जारी छ। सिनोभ्याक बायोटेक कम्पनीले सात सय जनामा यसको परीक्षण गरेको थियो। उक्त परीक्षणमा सहभागि सबैबाट सकारात्मक नतिजा प्राप्त भएको छ।
प्रारम्भिक मेडिकल डाटाका आधारमा खोप सुरक्षित रहेको देखिएको छ। अमेरिकी कम्पनीहरु– फाइजर, मोडेर्ना र रुसको स्पुतनिक खोपको सुरुवाती रिपोर्टमा ९० प्रतिशत भन्दा बढी प्रभावकारी रहेको जनाएका छन्।
सिनोभ्याक अहिले अन्तिम चरणको परीक्षणमा रहेको छ। चीनले अरु धेरै भ्याक्सिनहरु परीक्षण गरिरहेको भए पनि सिनोभ्याकको सफलता बढिरहेको जनाइएको छ। जर्नल द लान्सेटका अनुसार पहिलो तथा दोस्रो चरणको परीक्षणको नतिजा सुखद नदेखिए पनि तेस्रो चरणको परीक्षणमा यसले ९० प्रतिशत सफलता प्राप्त गरेको छ। उक्त जर्नलमा प्रकाशित लेखमा यस भ्याक्सिनले ९९ % काम गर्ने दावी गरिएको छ। सम्भवतः अप्रिल वा मे महिनासम्म भ्याक्सिनले पूर्णता पाउने गरी कम्पनीले काम गरिरहेको छ।
चीनमा बनेका अन्य चार भ्याक्सिनको परीक्षण पाकिस्तान, साउदी अरेबिया, रसिया, इन्डोनेसिया र ब्राजिलमा भइरहेको छ।
१४ दिनको अन्तरमा दुई डोज खोप लगाउँदा छिटो भन्दा छिटो प्रतिरोधात्मक क्षमता ल्याउने सक्ने जनाइएको छ। यो भ्याक्सिन चीनमा अहिले आपतकालिनरुपमा भने प्रयोग गरिराखिएको छ।
अन्य खोप जस्तो भण्डारणमा अप्ठ्यारो यसमा नरहेको जनाइएको छ। फाइजर जसरी अत्यन्तै कम तापमानमा यसलाई राख्नु नपर्दा जहाँका स्वास्थ्य संस्थामा पनि यसलाई लैजान सकिने विश्वास गरिएको छ।
कम्पनीका अनुसन्धानकर्ता गाङजेङका अनुसार भ्याक्सिनलाई फ्रिजको तापमान, ‘२ देखि ८ डिग्री सेल्सियस’ सम्ममा राख्न सकिन्छ। यो खोप तीन वर्षसम्म स्थिर रहन सक्ने जनाइएको छ। फाइजरको खोप माइनस ७० डिग्रीमा राख्नु पर्ने हुन्छ।