गुल्मी–गुल्मीमा कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर मेशिन जडान गरिएको छ। यसअघि ल्याइएको मेशिन जडान नभई फर्किएपछि पुनः अर्को मेशिन ल्याएर जडान गरिएको हो।
पीसीआर मेशिन जडान गरिएको प्रयोगशालाको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बिहिबार उद्घाटन गरेका छन्।
प्रयोगशालाको उदघाटन गरेपनि नियमित हुन भने अझै एक हप्ता लाग्ने भएको छ। सञ्चालन कार्यविधि, प्रयोगशालाका आफ्नै प्रक्रिया र प्राविधिक कर्मचारी भर्ना लगायतका कारण एक साता लाग्ने रेसुङ्गा नगरपालिकाले जनाएको छ।
रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा स्थापना गरिएको प्रयोगशाला उद्घाटन गर्दै मन्त्री ज्ञवालीले जिल्लाका नागरिकको लागि धेरै महत्वपूर्ण काम सुरु भएको बताए। अझै पनि कोरोना संक्रमण बढ्दै गएको र विभिन्न परिस्थितिले सबै क्षेत्र खुल्ला गरिएकाले प्रयोगशालाको आवश्यकता झन बढेको बताए।
दैनिक जनजीवनसँगै देशको अर्थतन्त्र तहसनहस भैरहेका बेला अव नागरिक आफै सचेत बन्ने, सरकारले परिक्षणलाई सर्भसुलभ र छिटोछरितो बनाउनुपर्नेमा ज्ञवालीले जोड दिए ।
जिल्लाका १२ वटै स्थानीय तहको समन्वयमा प्रयोगशाला निर्माण गरिएको हो । जिल्ला संकट व्यावस्थापन समितिको बैठकले सबै स्थानीय तहबाट प्रयोगशाला निर्माणको लागि आर्थिक सहयोग र समन्वय गर्ने निर्णय गरेको थियो ।
मन्त्री ज्ञवालीको पहलमा प्र्रयोगशालामा आवश्यक महत्वपूर्ण मेसिन हिमालयन एयरलाईन्सले प्रदान गरेको थियो । साथै प्रयोगशालामा आवश्यक अन्य स्वास्थ्य सामग्री स्थानीय तहहरुले व्यहोर्ने गरी रेसुङ्गा नगरपालिकाले समन्वय गरेर खरिद गरेको हो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले १२ स्थानीय तहकै समन्वय तथा सहकार्यमा प्रयोगशालाको अवधारणा र स्थापना सबैको सहयोगमा सञ्चालन गर्ने बताए ।
रेसुङ्गा नपा–९ उपल्लो तम्घासमा रहेको पहिलेको महिला तथा वालबालिका कार्यालयमा प्रयोगशाला स्थापना गरिएको छ । सोहि ठाउँमा यस अघि नगरपालिकाले आइसोलेसन संचालन गर्दै आएको थियो ।
गुल्मी अस्पतालले प्रयोगशाला संचालन गर्नेछ । असोज २ गते बस्ने जिल्ला संकट व्यावस्थापन समितिले प्रयोगशाला संचालन कार्यविधी अनुमोदन गरेपछि अस्पताललाई प्रयोगशाला हस्तान्तरण गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए । प्रयोगशाला नियमित रुपमा सञ्चालन गर्न अझै केहि दिन लाग्ने भएको छ ।
अहिले प्रयोगशालामा प्रदेश प्रयोगशालाका लक्ष्मण पन्थी र गुल्मी अस्पतालका केपी भण्डारी गरेर दुई जना मात्रै प्राबिधिक छन् ।
प्रयोगशालामा १५ जना प्राविधिक तथा कर्मचारी आवश्यक पर्छ ।
आवश्यक प्राविधीक र कर्मचारीको लागि गुल्मी अस्पतालले विज्ञापन गर्ने काम गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । उनले प्रयोगशालाका अझै केहि प्राविधिक प्रक्रिया र प्राविधिक आवश्यक भएकाले असोज ७ गतेबाट नियमित स्वाब संकलन र परिक्षण गरिने पच्याले जानकारी दिए ।