पाल्पा-पाल्पाका एकजना कोरोना संक्रमितको अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको छ। तानसेन नगरपालिका ७ का ५२ वर्षीय एक पुरुषको युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।
भदौ २२ गते अस्पताल भर्ना भएका ५२ वर्षीय पुरुषको स्वास्थ्यमा सुधार भइ सामान्य वेडमा सारिएको थियो। उच्च रक्तचापको साथै कलेजोका रोगी समेत रहेका उनको उपचारकै क्रममा कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।
मिसन अस्पतालमा आइसीयू र भेन्टिलेटर नभएकाले बिरामीलाई कोरोना विशेष अस्पताल बुटवलमा समन्वय गरी पठाएपनि कोराना अस्पतालले बिरामी भर्ना नलिएको युनाइटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए।
बिरामीका आफन्तले कोरोना अस्पताल बुटवलले भर्ना नलिएपछि रुपन्देहीका अन्य सुविधा सम्पन्न अस्पतालमा लगेर भर्ना नलिएपछि पुन: पाल्पा फर्काएका ल्याएका थिए। रुपन्देहीका अन्य अस्पतालमा समेत बिरामीको उपचार नभएपछि पुन: जटील अवस्थामा पुगेपछि मिसन अस्पतालमा भदौ ३० गते ल्याएको प्रशासकीय अधिकृत भट्टराईले बताए।
गम्भीर अवस्थामा मिसन आएका संक्रमित बिरामीलाई अक्सिजन दिएर उपचार गरिको भएपनि उनको बिहीबार बिहान मृत्यु भएको उनले बताए। उनले कोरोना संक्रमित एम्बुलेन्समा डुलाउँदा डुलाउँदै सिकिस्त भएको बताए।
आफन्तले भने-'कोरोना अस्पताल बुटवलले भर्ना लिएको भए बिरामीको ज्यान बच्ने थियो तर डुलाउँदा डुलाउँदै मृत्यु भयो।'
लुम्बिनी प्रादेशिक अस्पतालमा आएका बिरामीलाई भर्ना गर्नका लागि कुनैपनि बेड खाली नभएको र बिरामीको अवस्था गम्भीर बन्दै गएकाले अन्यत्र जान सुझाव दिएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
'उहाँहरुले बिरामी ल्याउने भन्ने जानकारी गराउँदा बेड थियो एकाएक बिरामी थपिएर बेड खाली रहेनन्, अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले भने-बिरामीको अवस्था हेर्दा जटिल देखेपछि भैरहवा वा भरतपूर लैजान सुझाव दिएका थियौं तर उहाँहरुले फेरि फर्काएर तानसेन लग्नुभएछ।'
पाल्पामा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि कोरोना संक्रमणबाट पूर्वखोला गाउँपालिकाका १ का ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका ८ की ३० वर्षीय महिलाको मृत्यु भएको थियो।