बुटवल-कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो। यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ।
हाल विश्वभरि फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ।
भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ।
मंगलबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन्।
हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ। सङ्क्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५२ हजार भन्दा बढी पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबारसम्म नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ।
यसरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको परीक्षणपछि पोजेटिभ रिपोर्ट आएमा संक्रमण भएको मानिन्छ भने नेगेटिभ रिपोर्ट आएमा संक्रमण नभएको मानिन्छ।
यो विधिमा संक्रमणको शंका लागेका वा नलागेका व्यक्तिको नाक वा घाँटीको अलिक भित्री भागमा रहेको खकारजन्य वस्तुलाई लिएर परीक्षण गरिन्छ। जसलाई चलनचल्तीमा स्वाब भन्ने गरिएको छ।
स्वाब लिएर आरटी पीसीआर विधिबाट यसको जाँच गरिन्छ। जाँच गरेपछि पोजेटिभ र नेगेटिभ रिपोर्ट आउँछ। पोजेटिभ र नेगेटिभ रिपोर्ट आउँदा पनि यसका केही मापदण्डहरु छन्। त्यसलाई सिटी काउन्ट भनिन्छ। यसबारे लुम्बिनी टाइम्सले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना श्रोत व्यक्ति डा. सुदर्शन थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरी, लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालाका प्रमुख प्रभाकर चौधरी र प्रादेशिक अस्पतालकै प्रयोगशालाका सुमन सापकोटासँग गरिएको कुराकानीको अंश।
पिसिआर परीक्षणमा सिटी काउन्ट के हो ?
सिटी काउन्टको अर्थ साईकल थ्रेसहोल्ड हो। यसले भाइरस लोडको निर्धारण गर्छ। यसरी व्यक्तिको शरीरमा कति भाइरस छ भनेर पत्ता लगाउन सकिन्छ। यसमा थोरै मात्रामा सिटी हुनु भनेको धेरै जिन हुनु हो। धेरै सिटी हुनु भनेको जिन थोरै हुनु हो। यसलाई साइकल थ्रेस होल्ड पनि भन्ने गरिन्छ। कति साइकलमा भाइरसको जिन देखिन सुरु ग¥यो भन्ने देखाउँछ। यसलाई भाइरस लोड कति छ भनेर सूचकको रुपमा लिन सकिन्छ।
सिटी काउन्ट कति आयो भने संक्रमण भएको पुष्टि हुन्छ ?
सिटी काउन्ट १० देखि ३५ सम्म आयो भने संक्रमण पुष्टि भएको मानिन्छ। ३५ देखि ३७ मा पुग्दा पीसीआर परीक्षण नेगेटिभ आउँछ।
सिटी काउन्ट कति आयो भने संक्रमितको स्वास्थ्यमा जोखिम हुनसक्छ ?
सामान्यतया पीसीआर परीक्षण गर्दा सिटी काउन्ट १० देखि ३५ सम्मकोलाई पोजेटिभ मानिन्छ। १० भन्दामुनि न्यून मात्रामा देखिन्छ। पछिल्लो समय २४ सिटीभन्दा तल हुँदा भाइरस सक्रिय हुन्छ। त्यसरी संक्रमित भएको व्यक्तिले सजिलै अरुलाई सार्न सक्छ। २४ भन्दामाथि हुँदा भाइरसकव असर कम छ भनेर मानिन्छ। ३० भन्दा माथि डर कम छ अरुमा सर्दैन भन्ने हो। यी सबै कुरालाई स्वाब संकलन प्रक्रिया कसरी र कति उपयुक्त हिसाबले भएको थियो भन्नेमा पनि भर पर्छ।
स्वाब संकलन प्रक्रियामा के के कुराले भर पर्छ ?
रिपोर्ट कस्तो आयो भन्ने कुरालाई स्वाब संकलनको प्रक्रिया र विधिले सबैभन्दा धेरै महत्व राख्छ। सिधै भाइरस लोड कम छ र बढी छ भन्नु भन्दापनि स्वाबको स्याम्पल कलेक्सन कुन अवस्थामा गरिन्छ, स्वाब तान्दा कति भित्रबाट तानिन्छ, कुन ठाउँबाट तानिन्छ भन्ने कुराले पनि भाइरस लोड थपघटमा प्रभाव पार्छ। स्याम्पल राम्रोसँग तानिएन भने भाइरस धेरै हुँदाहुँदै पनि स्वाबमा कम आइदिन्छ। त्यसलाई फल्स नेगेटिभ भनिन्छ।
कहिले हतार हतार काम हुने, स्वास्थ्यकर्मीले डराएर भित्रसम्म नलैजाने गर्दा सिटी भ्यालू लो आउने र पोजेटिभ नआउने पनि हुन्छ। त्यस्तै संक्रमित भएको तीनदेखि पाँचदिनमा भाइरल लोड बढी हुन्छ। त्यसपछि क्रमशः कम हुँदै जान्छ। भाइरस शरीरमै कम भएमा बाहिर संक्रमण फैलाउने दर कम हुन्छ। सिटी काउन्ट २४ भन्दा कम भयो भने संक्रमित व्यक्तिमा लक्षण देखिन थाल्छन् र उसले संक्रमण सार्न सक्ने सम्भावना बढी हुन्छ।
पिसीआर परिक्षणको रिपोर्ट दिँदा पोजेटिभ र नेगेटिभ मात्र भनिन्छ, सिटी काउन्ट बताइन्न, सिटी काउन्ट बताइदिए त संक्रमितले म कति जोखिममा छु भन्ने कुरा थाहा पाउने रहेछ नि ?
स्वाब परीक्षण गर्दा सिटी काउन्ट हामीसँग हुन्छ। त्यसको रेकर्ड राख्ने गरेका छौ।
परीक्षण गराएको व्यक्तिलाई दिने नतिजामा उल्लेख गरिँदैन। आज भाइरल लोड बढी भएको दिन स्वाब संकलन भयो र त्यही स्वाबका आधारमा सिटी काउन्ट दिने समयसम्म उसमा संक्रमणको जोखिम कम भएको हुनसक्छ। कतिपय अवस्थामा नेगेटिभ आएको तर लक्षण देखिएको भएमा उसको सिटी काउन्ट नमिल्न सक्छ। यी कुरालाई स्वाब कसरी संकलन भयो भन्नेले धेरै अर्थ राख्छ। त्यसैले पोजेटिभ र नेगेटिभ मात्रै भन्ने गरेको हो।
भाइरस लोड कति बढी भयो भने शरीरमा कस्तो समस्या हुन्छ ?
भाइरसको कारणले शरीरमा समस्या ल्याउँछ। त्यसबाट श्वाश फेर्न गाह्रो हुन्छ। यो भाइरसका कारण हुने निमोनिया एक प्रकारको कारकतत्व हो। ज्वरो आउँछ र अरु पनि लक्षण देखिन थाल्छन्। भाइरस लोड बढी भएमा यसले शरीरमा अक्सिजनको मात्रा कम गराइदिन्छ। स्वास्थ्यमा जटिलता आएर मृत्यु समेत हुनसक्छ।
अहिलेको तथ्यांकअनुसार रोगप्रतिरक्षा क्षमता कमजोर हुँदै गएको, उमेर ढल्किदै गएको, अरु रोगको औषधि खाइरहेकामा भाइरसले बढी समातेको छ। कतै कतै दीर्घरोगी नभएकामा पनि असर पारेको छ। समग्रमा युवापुस्तामा मृत्यु दर कम छ।
कोरोना भाइरसको परीक्षण कसरी हुन्छ ?
भाइरस न त सजीव हो न निर्जीव नै। यसमा सजीव र निर्जीव दुवैको गुण हुन्छ। सजीवको कोषमा डिएनए र आरएनए गरी दुईवटा न्युक्लिक अम्ल हुन्छन्। भाइरसमा कोषको पूर्ण स्वरूप नै हुँदैन। यी दुइ न्युक्लिक अम्ल मध्ये कुनै एकमात्र हुन्छ। यही आधारमा भाइरसलाई डिएनए र आरएनए भाइरस गरी दुई भागमा बाँडिन्छ।
नोबल कोरोना भाइरस आरएनए भाइरस हो। पहिला सार्स फैलाएकै भाइरसको आनुवंशिक संरचनामा आएको फेरबदलले यो भाइरसको निर्माण भएको हो। भाइरसको संक्रमण छ कि छैन भनेर दुई हिसाबले जाँच गरिन्छ। एउटा आरडीटी र अर्को आरटी पीसीआर विधि।
परिक्षणमा एन्टिबोडिज र एन्टिजेनको जाँच गरिन्छ। एन्टिजेन भनेको भाइरस हो। यो भाइरस मानव शरीरमा प्रवेश गरेपछि त्यसविरूद्ध शरीरको रोगप्रतिरोधात्मक क्षमताले एन्टिबडिज भनिने एक प्रकारको प्रोटीन निर्माण गर्छ।
यसले नै रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ। शरीरमा यस्तो एन्टिबोडिज निर्माण भएको छ, छैन भनेर जाँच गर्ने विधि नै सेरोलोजिकल परिक्षण हो। यदि कुनै निश्चित एन्टिबोडिजको जाँच पोजेटिभ देखियो भने हाम्रो शरीरमा कोरोना भाइरसको संक्रमण भएको छ भनेर बुझ्नुपर्दछ। यस परीक्षण विधिमा गलत परिणाम पनि देखिन सक्ने भएकाले यसलाई त्यति विश्वसनीय मानिंदैन। नेपालमा अहिले यो विधिबाट परीक्षण गरिएको छैन।
(आरटी) पीसीआर विधि भनेको शरीरमा भाइरस भए नभएको पत्ता लगाउने विधि हो। यो प्रविधीमा व्यक्तिको स्वाबबाट निकालिएको आरएनएलाई सि-डिएनए मा परिणत गरी त्यो जीन वृद्धि गरि भाइरसको जम्मा भार निकाल्न सकिन्छ। सि-डिएनए भन्नाले आर.एन.ए.को एउटा स्ट्रान्डडबाट बनाइएको पूरक डि.एन.ए. हो।
यो परिक्षण विधिलाई बढी विश्वासिलो मान्ने पनि गरिन्छ। एकदम थोरै नमुनामा काम गर्नुपर्ने, उपयुक्त मास्टरमिक्स बनाउनुपर्ने भएकोले यो मोलिक्युलर परिक्षण प्रविधी एकदमै दक्ष जनशक्तिबाट मात्र सम्भव हुन्छ।
जनशक्ति दक्ष भएन भने नमुनामा संक्रमण हुन सक्ने, राम्रोसँग आर.एन.ए. निस्कन नसक्ने हुन्छ। फलस्वरूप गलत परिणाम देखिन सक्ने प्रबल सम्भावना हुन्छ। कोरोना भाइरस मानिसको शरीरिभत्र थुकको छिट्टामार्फत मुख, नाक र आँखाबाट प्रवेश गर्छ।
त्यसपछि करिब ५ देखि ७ दिनसम्ममा शरीरमा भाइरसको संख्या वृद्धि भइसक्छ र यो बेला मानिसको घाँटी, नाक वा सासनलीबाट खकारको नमूना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस देखिन्छ। यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ। अनि तेस्रो हप्तादेखि विस्तारै कम हुँदै जान्छ।
त्यसैले आरटी पीसीआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिने पनि हुनसक्छ। तर शरीरमा भाइरस प्रवेश गरेपछि यो भाइरस विरुद्धको एन्टीबडी विकास हुन थाल्छ। हालसम्मको अध्ययनअनुसार भाइरस प्रवेश गरेको ७ दिनदेखि 'एम' नामको एन्टीबडी बन्छ, यस्तो आइजीएम करिब एक महिना सम्ममा कम हुँदै जान्छ र करिब १४ दिनदेखि आइजी 'जी' नामको एन्टीबडी उत्पन्न हुन्छ।
जुन केही लामो समयसम्म रहनसक्छ। आइजीएमले संक्रमण भएको संकेत गर्छ भने आइजीजीले संक्रमणको केही पुरानो हो भन्ने बुझाउँछ।