काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० थियो।
मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरी जम्मा ६९६ जना संक्रमित थपिएका छन्।