अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।
बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो ।
एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि रोकिएको बताएको छ ।
खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको बीबीसीले जनाएको छ ।
जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुन्छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ ।
एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।
मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिएको हो । वैज्ञानिकहरुले रियाक्सनको अध्ययन गरिरहेका छन् ।
तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ ।
तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन्।
तत्कालका लागि रोकिएको परीक्षण रियाक्सनको कारण थाहा हुने वित्तिकै सुरु हुने निर्माताले बताएका छन् । खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टाट न्यूजले प्रकाशित गरेको थियो ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । तर उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ ।
राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने तर्फ सचेत गराएका छन् ।