भैरहवा–सोमबार रुपन्देहीमा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा रुपन्देहीका ६ पालिकाका ६ महिला र ३५ पुरुष गरी ४१ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
कार्यालयका अनुसार सोमबार दिउसो ४ बजे सम्म सबैभन्दा बढी सिद्धार्थनगर नगरपालिका क्षेत्रका संक्रमित थपिएका छन्। ४ महिला १४ पुरुष गरी सिद्धार्थनगरमा १८ जना संक्रमित आजै मात्रै थप भएका छन्। त्यस्तै बुटवल उपमहानगरमा ४, ओमसतियामा १६, सैनामैनामा, मायादेवी र लुम्बिनी सांस्कृतिकमा थप १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको शाहले जानकारी दिए। कार्यालयले दिएको तथ्यांकअनुसार हाल सम्म १४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ६५३ जना निको भएर फर्किसकेका छन्, ६६२ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।