बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ। उनीहरुमध्ये एकजना नवलपरासी प्रतापपुर गाउँपालिकाकी महिला हुन् भने एकजना बुटवल ११ रुपन्देहीका पुरुष हुन्।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो।
बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो। दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेपनि अरु कुनै दीर्घरोगको समस्या थिएन।
योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। बुटवल उपमहानगरका मात्रै ६ जनाको मृत्यु भएको छ।